कालिमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ, दुई संक्रमित प्रहरी डिस्चार्ज


१७ जेष्ठ २०७७, शनिबार
Kalimati police scaled

काठमाडौं, १७ जेठ । काठमाडौंको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुमध्ये कतिपय प्रहरी काममा फर्किसकेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

यस क्षेत्रमा खटिने ५१ जना ट्राफिक प्रहरीको समेत परीक्षण भएको थियो । यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षकमा कोभिड–१९ पुष्टि भएपछि कालिमाटी वृत्त र त्यस आसपासका प्रहरी विट तथा महिला सेललाई सिल गरेर पिसिआर परीक्षण गरिएको थियो ।

सो क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीको समेत पिसिआर परीक्षण गरिएको थियो । कोभिड–१९ सङ्क्रमण भएका दुई प्रहरीको दुवै परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि ‘डिस्चार्ज’ भएका छन् । दुवै जनालाई आजै होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म मुलुकभर गरेर २० प्रहरीलाई कोभिड–१९ देखिएको छ । उनीहरुमध्ये धेरैको उपचार भइरहेको र उपचारपछि रिपोर्ट नेगेटिभ आएकालाई भने क्वारेन्टिनमा राखिएको केन्द्रीय प्रहरी प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७