१४ देशका नागरिकले युरोप भ्रमण गर्न पाउने, अमेरिका, ब्राजिल र चीन सूची बाहिर


१६ असार २०७७, मंगलवार
europe

काठमाडौं, १६ असार । युरोपले विस्तारै विदेशी यात्रुका लागि आफ्नो आकाश खुला गर्ने भएको छ ।
युरोपियन युनियन भित्रका देशमा कोरोना भाइरसको महामारीका कारण लागेको विदेशी यात्रु (ईयु बाहेकका देश) माथिको प्रतिबन्ध जुलाई १ देखि फुकुवा गर्ने निर्णय ईयुले गरेको हो ।

पहिलो चरणमा यसरी युरोपमा यात्राका लागि स्वीकृति पाउनेमा १४ ‘सुरक्षित’ मुलुक रहेका छन् । विश्वभर महामारी फैलन क्रम तीव्र भइरहे पनि यात्रा खुकुलो पार्ने नीति ईयुले लिएको हो ।

ईयुले यात्रा अनुमति दिएका १४ ‘सुरक्षित’ मुलुकमा अष्ट्रेलिया, क्यानडा, जापान, मोरक्को र दक्षिण कोरिया छन् । यसैगरी सुरक्षित देशको सूचीमा अल्जेरिया, जर्जिया, मन्टेनेग्रो, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन् ।

महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिका, ब्राजिल र महामारीको उद्गमथलो चीनलाई भने भ्रमणका लागि अनुमति दिइएको छैन । चीनलाई राख्न ईयु तयार भए पनि युरोपेली यात्रुलाई चीन भ्रमणमा स्वीकृति दिन चीन सहमत नहुँदा उसलाई हटाइएको हो ।

ईयुभित्रका यात्रुका लागि यसअघि नै सीमा खुला गरिएको थियो भने बेलायतका नागरिकलाई पनि आउँदो डिसेम्बर ३१ सम्म ईयुका नागरिकसरह व्यवहार हुने उल्लेख छ ।

कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या एक करोड चार लाख नाघेको छ भने मृतकको संख्या पनि ५ लाख ७ हजार माथि छ । विश्वमै सबैभन्दा धेरै प्रभावित अमेरिकामा भाइरसबाट संक्रमित हुनेको संख्या २६ लाख ८१ हजार हुँदा मृतकको संख्या १ लाख २८ हजार नाघेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७