भट्ट नियुक्तिलाई लिएर बालुवाटारमा चर्काचर्की : प्रचण्ड र खनालको आपत्ति, ओलीद्धारा बचाऊ


२० श्रावण २०७७, मंगलवार
Pm Kp sharma oli and Cm Prachand12 scaled

काठमाडौं, २० साउन । विवादित पृष्ठभुमिका सुशील भट्टलाई लगानी बोर्डको सीइओ (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको विषयमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच चर्काचर्की परेको छ ।

स्रोतका अनुसार मंगलबार साँझ भएको छलफलमा भट्टको नियुक्तिको विषयलाई लिएर अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालले आपत्ती प्रकट गरेका थिए । छलफलमा प्रचण्डले ओलीलाई सोधेका थिए, ‘विवादास्पद भन्दाभन्दै किन सुशील भट्टलाई नियुक्त गर्नु भयो । तपाईंले पार्टीमा पनि छलफल नगर्ने, जानकारी पनि नदिने अनि भटाभट विवादास्पद व्यक्तिलाई राज्यको महत्त्वपूर्ण निकायमा नियुक्त किन गर्नुभयो ?

यसपछि वरिष्ठ नेता खनालले पनि आपत्ती प्रकट गरेका थिए । खनालले सोधका थिए, ‘कमिसन एजेन्ट, इमेज ड्यामेज भएको मान्छेलाई नियुक्ति गर्ने हो ? पार्टीसँग किन सल्लाह गर्नुभएन ? तपाईंले जे गरे पनि पार्टीले समर्थन गर्छ भन्ने ठान्नु हुन्छ ?’ पाँच बजेदेखि सुरु भएको छलफल सुरुवात चर्काचर्कीबाट सुरु भएको थियो ।

सुरुमा प्रधानमन्त्री ओली प्रचण्ड र खनालको प्रश्नमा मौन रहेका थिए । पछि प्रधानमन्त्री ओलीले भने भट्टको नियुक्तिको बचाऊ गर्दै सरकारको नियमित काम भएको उल्लेख गर्दै कसैले आपत्ति जनाउन नपर्ने तर्क गरेका थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको थियो ।

चर्काचर्कीपछि छलफल बिषयमा प्रवेश गरेको थियो । यसपछि स्थायी कमिटीको बैठक गर्ने कि सचिवालयको बैठक बस्ने भन्ने विषयमा छलफल भएको थियो । प्रचण्ड र खनालले स्थायी कमिटि बैठक बसेर समधान खोज्नु पर्नेमा जोड दिएका थिए ।

प्रधानमन्त्री ओलीले भने स्थायी कमिटीबाट यो विवाद हल नहुने भन्दै सचिवालय बोलाएर छलफल गर्नुपर्ने अडान राखेका थिए । प्रधानमन्त्री एवं अध्यक्ष ओली, कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेतको सहभागितामा तीन दिनदेखि लगातार बालुवाटारमा छलफल हुँदै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७