अब लक्षण नदेखिएका संक्रमितलाई अस्पताल भर्ना नगरिने

गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन


५ भाद्र २०७७, शुक्रबार
korona 4

काठमाडौं, ५ भदौं । अब लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितलाई कोभिड–१९ उपचारका लागि तोकिएका अस्पताल भर्ना नगरिने भएको छ ।

कोरोना संक्रमण तीब्र बनेसँगै अस्पतालमा शैंया अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्र अस्पताल भर्ना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय छ ।

लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ । त्यसको अनुगमन भने स्थानीय तहले अनुगमन दिनेछन् । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयहरुलाई पनि जोखिमको मूल्यांकन गरेर आइसोलेसन सेन्टरहरु बनाउन भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताल, मेडिकल कलेज वा प्रतिष्ठानले कोभिड अस्पताल बनाउन सक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

मन्त्रालयले हालै कोभिडका बिरामीका लागि २० प्रतिशत बेड छुट्टयाउन निजी तथा सामुदायिक अस्पताललाई भनेको थियो भने मेडिकल कलेलहरुलाई एक तिहाई बेड बराबर आइसोलेसन सेन्टर बनाउन भनेको थियो ।

तर निजी अस्पताल र जनस्वास्थ्य विज्ञहरुले भने कोभिड र ननकोभिडका बिरामीलाई एउटै अस्पतालमा उपचार गर्दा संक्रमण फैलिन सक्ने र स्वास्थ्यकर्मीको व्यवस्थापन पनि कठिन हुने बताएका थिए । मन्त्रिपरिषद्को बैठकले आईसीयू, भेन्टिलेटर र अक्सिजन र त्यसका लागि चाहिने जनशक्तिको प्रबन्ध गर्न पनि स्वास्थ्य मन्त्रालयलाई भनेको छ । साथै पीसीआर परीक्षणलाई बढाउने र कट्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउने निर्णय भएको सरकारका प्रवक्ता डा. खतिवडाले बताए ।

गृह सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन
सरकारले गृह मन्त्रालयका सचिवको संयोजकत्वमा एकीकृत क्वारेन्टिन निर्माण समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले उपत्यकामा कोरोना संक्रमण बढेको र त्यसलाई व्यवस्थित तरिकाले नियन्त्रण गर्न भन्दै समिति नै निर्माण गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गृह सचिवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, संघीय मामिला मन्त्रालयका सहसचिव, भवन निर्माण विभागका प्रतिनिधि, सुरक्षा निकायका व्यक्तिहरु र क्वारेन्टिन रहने स्थानीय तहका व्यक्तिहरु रहने गरी समिति निर्माण भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् । यसले क्वारेन्टिन निर्माण, मर्मत तथा व्यवस्थापन गर्नेछ भने यसको सुरक्षा नेपाली सेनाले गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७