ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


८ आश्विन २०७७, बिहीबार
kp oli prachanda

काठमाडौं, ८ असोज । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ओली र प्रचण्डबीच साढे ११ बजेबाट भेटवार्ता शुरु भएको र अहिले छलफल जारी रहेको जानकारी गराएका छन् ।

दुई अध्यक्षबीच सचिवालय बैठकमा पेश भएर छलफल हुन बाँकी कार्यसूचीका बारेमा थप छलफल हुने स्रोतले जनाएको छ । दुई अध्यक्षबीचको भेटवार्तापछि सचिवालय बैठक बोलाउने तयारी छ ।

मंगलबारको सचिवालय बैठकले विविध विषयमा दुई अध्यक्षबीच कुराकानी गरेर सचिवालयमा पुुन छलफल गर्ने निर्णय भएको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिएका थिए । सोहीअनुसार बिहीबार दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

सचिवालय बैठकमा यसअघि तय भएका कार्यसूचीमध्ये मन्त्रिपरिषद पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति, पार्टी एकता र विविध विषयमध्ये तीनवटा विषयमा छलफल भइसकेपनि निर्णय भने केही भएको छैन । मन्त्रिमण्डल पुनर्गठन तथा राजनीतिक, संवैधानिक नियुक्तिका सवालमा मापदण्ड बनाउने र सोहीअनुसार नियुक्तिहरु गर्ने भनिएपनि कस्तो मापदण्ड बनाउने भन्ने निश्चित भएको छैन ।

मंगलबारको सचिवालय बैठकले संविधानअनुसार संवैधानिक नियुक्तिहरु गर्न सरकारलाई सुझाव दिएको थियो । सोही बैठकले पार्टी एकता र एकीकरणका बाँकी काम पूरा गर्न १० दिनभित्र कार्ययोजना तयार गर्न पनि अध्यक्षद्वय र महासचिवलाई जिम्मा दिएको थियो ।

पार्टीभित्रको एकता, समझदारी र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने, सरकारको कामलाई प्रभावकारी ढङ्गले अगाडि बढाइ सरकारको विश्वसनीयता अझ बढी बनाउने र सरकारलाई अझ सफल बनाउनेतर्फ अघि बढ्ने नेकपाको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७