माइतीलाई पुष्पाको शव हेर्न नदिई जलाएपछि…


२३ आश्विन २०७७, शुक्रबार
puspa 20201008014008

सिन्धुली, २३ असोज । सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीकी १९ वर्षीया पुष्पा भुजेलको मृत्यु प्रकरण रहस्यमय बनेको छ । परिवार र आफन्तले उनको मृत्यु अस्वभाविक भएको भन्दै निष्पक्ष छानविनको मागसमेत गरेका छन् ।

गएको असोज १६ गते राति आफ्नै घरमा सलको पासो लगाई आत्महत्या गरेकी भनिएकी भुजेलको शव समेत माईती पक्षलाई हेर्न नदिई जलाएपछि घटना थप रहस्यमय बनेको हो ।

उनको आत्महत्या नै भएको परिवारका सदस्यले बताइरहेका बेला युवतीको माइती पक्षले भने आत्माहत्या नभई हत्या नै भएको दावी गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी समेत दिएपछि घटनाले अर्कै मोड लिएको छ ।

सुरुमा (पुष्पाको श्रीमान) गोपी थापाले राती २ः३० बजे पुष्पाको एक आफन्तलाई फोन गरेर पुष्पाको पेट फुलेको र धेरै बिमारी भएको भन्दै गाडी लिएर आउन खबर गरेका थिए । तर, बहिनी बिरामी भएको थाहा पाएपछि गाडी लिएर चियाबारी पुग्दा पुष्पाको मृत्यु भइसकेको र अस्पताल ल्याएपछि पुष्पाले आत्महत्या गरेको बताएपछि बहिनीको हत्या भएको दावी गरिएको पुष्पाको दाजु पवन भुजेलले बताए ।

पुष्पा र गोपीबीच साढे २ महिना अघिमात्र भागेर प्रेम विवाह भएको थियो । सुरुमा बिरामी भएको भनिए पनि अस्पतालमा आएपछि आत्महत्या गरेको दावी गरिएपछि माइती पक्ष सशंकित भएका थिए ।

घटनास्थलमा मुचुल्का उठाउन पुगेको प्रहरी टोलीले समेत घटना शंकास्पद भएको र जाहेरी दिन भनेपछि पुष्पाको श्रीमान र उनको शव अस्पतालसम्म ल्याउन सहयोग गरेका अन्य चार जना गरी पाँच जनाको नामा किटानी जाहेरी दिँदा प्रहरीले नै जाहेरी नलिएको पवनको भनाई छ ।

उनले भने, ‘बहिनीको शव अस्पतालमा ल्याउँदा हामी सबै जम्मा भएका थियौं । केटा पक्षले बहिनीको शव समेत हेर्न नदिएर शव घरमा थुनेर राखेपछि जबरजस्त शव हेर्न खोज्दा प्रहरीले समेत रोक्यो,’ उनले भने ।

जाहेरी लेखाउन लगाएको वकिललाई समेत प्रहरी कार्यालयबाट फोन गरेर जाहेरी नलेख्न दवाब आएको उनको भनाई छ । पोष्टमार्टमपछि पनि माइती पक्षलाई शव हेर्न नदिएको बताइएको छ । ‘मृतक पुष्पा झुण्डिएको सल लाइटर लगाएर डडाइएको छ ।

उसको मुख, कान र आँखाबाट रगत बगेको अवस्थामा कपाल पुरै भिजेको देखिन्थ्यो । केटाको ढाडमा कोतरेको घाउहरु छन् । घटनास्थलमा बहिनीको गहना फुत्किएको अवस्थामा छ यस्तो प्रकृतिको घटना कसरी आत्म हत्या हुन सक्छ ?’ पवनले प्रति प्रश्न गरे ।

घटनाको दोस्रो दिन पोष्टमार्टम गरिएपनि शवलाई सिन्धुली अस्पतालमा माइती पक्षका आफन्तजलाई देख्न र फोटो समेत खिच्न नदिई पोष्ट मार्टमपछि लगेर जलाइएको बताइएको छ । उता केटा पक्षले भने पुष्पाले आत्म हत्यानै गरेको दावी गर्दै आएका छन् । तर, घटना भएको राती छिमेकीहरु समेत कसैलाई थाहै नदिई अस्पताल ल्याउनु केही रहस्यमय नै भएको र आफूहरुले गम्भीर भएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीकी प्रहरी प्रमुख एसपी रन्जु सिग्देलले मृतकको माइती पक्षले भने झैं प्रहरी कसैको दवाबमा नपरेको बताउँदै घटना केही शंकास्पद भएकोले आफूहरु सचेततापुर्वक अनुसन्धानमा लागेको बताइन् ।

उनले भनिन्, ‘प्रारम्भिक पोष्टमार्टमको रिपोर्ट आएको छ । तर हामी अझै कमफम हुन केही स्वाबहरु समेत संकलन गरेर काठमाण्डौं पठाएका छौं । त्यसको समेत रिपोर्ट आएपछि मात्र घटनाबारे एकिन गर्न सकिन्छ ।’

एसपी सिग्देलका अनुसार घटनापछि माइतीपक्षले दिएको जाहेरीका आधारमा मृतकका श्रीमान गोपी थापालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७