कोभिड कृषि कार्यक्रम : जनप्रतिनिधिका आफन्तको रजाइँ


२२ कार्तिक २०७७, शनिबार
10301957 301300123361326 7706147832025285046 n 696x415 1

गुल्मी, २२ कार्तिक । गुल्मीको रेसुंगा नगरपालिका–९ का पशुपतिराज मरासिनी रेसुंगा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक हुन् । उनले नगरपालिकामा श्रीमतीका नाममा मरासिनी मौरी फर्म दर्ता गराएका छन् ।

उनको घरमा अहिले तीनओटा मौरीका घार छन् । ती घारबाट वार्षिक २४ किलो मह उत्पादन हुन्छ, जसको मूल्य २८ हजार ८ सय हुन्छ । फर्मलाई लुम्बिनी प्रदेश सरकारको कोभिड विशेष अनुदान कार्यक्रमबाट २० हजार अनुदान दिइएको छ ।

रेसुंगा नगरपालिका–६ की शान्ता पोखरेलले गत असारमा प्रदेश सरकारले दिने भनेको कोभिड कृषि कार्यक्रममा अनुदानका लागि फाराम भरिन् । उनी अनुदानका लागि योग्य पनि भइन् र २० हजार प्राप्त गरिन् । उनी सोही वडाका वडा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रेसुंगा नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलकी श्रीमती हुन् ।

पोखरेलले च्याउ खेती गरेको भन्दै वडाले अनुदानका लागि सिफारिस दिएको हो । सोही वडाका वडाध्यक्ष गनबहादुर गुरुङले श्रीमती रामप्यारी गुरुङलाई कोभिड विशेष अनुदानका लागि सिफारिस गरे । रामप्यारीले पशुपालन व्यवसाय गरेको भनेर अनुदान पाइन् पनि ।

रेसुंगा नगरपालिका–१० का नेकपाका अध्यक्ष देवीराम पाण्डेले श्रीमती सरस्वती पाण्डेका नाममा कोभिड विशेष अनुदानका लागि फाराम भरे । उक्त वडामा नेकपाकै तर्फबाट विजयी पदमप्रसाद पाण्डे वडाध्यक्ष छन् । जसका कारण सरस्वतीको नाममा तरकारी खेती गरेको भन्दै २० हजार विनियोजन भयो । सोही वडाकै वडादस्य मिनुराम पाण्डेकी श्रीमती अमृता पाण्डेले कोभिड विशेष अनुदानका लागि वडा कार्यालयमा फाराम भरिन् । उनी अनुदानका लागि योग्य पनि भइन् ।

नगरपालिकाको वडा नम्बर ९ बसपार्कका पुरुषोत्तम पन्थीले घर अगाडि करिब १० ओटा मुला, ३० ओटा प्याजका बिरुवा र ५–७ वटा रायोको साग लगाएका छन् । तर राजनीतिक पहुँचका कारण उनले पनि राहतस्वरूप २० हजार लिए । उनी व्यावसायिक तरकारी खेती गर्ने सुरमै छैनन् ।

सोही वडाका खिमबहादुर विक, पुरन नेपाली र मुना विकले पनि प्रदेश सरकारबाट २०–२० हजार अनुदान पाए । उनीहरुको घरमा व्यावसायिक पशुपालन तथा तरकारी खेती गरिएको छैन । वडाध्यक्ष नारायण बरालले वडामा तरकारी खेतीमा जम्मा तीन जनाले मात्र फाराम भरेकोले सबैले पाएको दाबी गरे ।

रेसुंगा नगरपालिका–३ का पूर्ण केसी नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का सभापति हुन् । उनको वडामा नेपाली कांग्रेसबाट विजयी थम्मनबहादुर थापा वडाध्यक्ष छन् । यसले गर्दा उनले पनि प्रदेश सरकारको कोभिड विशेष अनुदान २० हजार हात पारेका छन् ।

वडा नम्बर २ का वडा सदस्य शेरबहादुर विकले भाइ बुहारी पूजा विकलाई कोभिड अनुदान दिलाएका छन् । सोही वडाका वडाध्यक्ष उदय थापाले आफ्नै भाई गणेश थापालाई पशुपालनतर्फको अनुदान दिलाए पनि उनको घरमा व्यावसायिक पशुपालन गरिएको छैन ।

व्यावसायिक रूपमा कृषि गरेको भन्दै यसरी राजनीतिक पहुँचका आधारमा अनुदान लिनेमध्ये धेरैले व्यावसायिक कृषि गरेका छैनन् । गुल्मीका १२ वटा पालिकाका ४ हजार ८ सय ६४ जनाले कोभिड कृषि कार्यक्रमको अनुदानका लागि आवेदन दिएका थिए । तीमध्ये २ हजार ३९० जनाले अनुदान पाए । यसका लागि ५ करोड ९१ लाख २० हजार विनियोजन भएकामा ४ करोड ८० लाख ५१ हजार ७२४ खर्च भएको छ । १ करोड १० लाख ६८ हजार २७४ रकम फ्रिज भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

रेसुंगा, मुसिकोट, धुर्कोट, मदानेलगायतका पालिकामा एकै व्यक्तिले धेरैपटक अनुदान लिएका छन् । रेसुंगा नगरपालिकामा गत आर्थिक वर्षमा कोभिड कृषि विशेष अनुदानका लागि कुल ५५८ जनाले फाराम भरेका थिए । तीमध्ये २६३ जना मात्र अनुदानका लागि योग्य भए । योग्य हुनेहरूमा जनप्रतिनिधि र माथिल्लो तहका कर्मचारीका नातेदार छन् ।

अनुदानका लागि प्रदेश सरकारले ५७ लाख ४० हजार नगरपालिकामा पठाएको थियो । यसमध्ये ५४ लाख २५ हजार खर्च भएको छ । एकातर्फ नगरपालिकामा २९५ जना किसानले आवेदन दिएर पनि अनुदान पाएनन् भने अर्कोतर्फ नगरपालिकाबाट ३ लाख १५ हजार फ्रिज भएको छ । यस्तो अनुदान कार्यक्रमको अनुगमन नगरपालिकाले गरेको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७