सबैको आँखामा सन्दिप
काठमाण्डौं, २९ माघ : आज नेपाली राष्ट्रिय क्रिकेट टोली जारी विश्व क्रिकेट लिग डिभिजन–२ मा केन्याको जुधिरहेको छ । विश्वको आँखा फेरि पनि नेपाली युवा बलर सन्दिप लामिछानेमाथि छ ।
आइसीसी डिभिजन टुको आफ्नो चौथो खेलमा नेपाल अहिले केन्यासँग खेलिरहेको छ । टस जितेर फिल्डिङ राजेको नेपालले केन्याको आठौं विकेट झारेको छ ।
आठौं विकेट लिएका सन्दीपले समग्रमा एक्लैले पाँच विकेट लिइसकेका छन् । यसअघि सातौ विकेट शरद भेषवाकरले लिंदा सोमपाल कामीले छैंटौ विकेट लिएका थिए । वसन्त रेग्मीले एक विकेट हात पारेका छन् । खेलमा सन्दीपको प्रदर्शन उत्कृष्ट रहेको छ । आजको खेलमा पनि उनी चम्किएका छन् ।
यहि महिना दिल्ली डेयरडेभिल्ससँग आबद्ध भएका सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् । आइपिएलमा छनोट भइसकेपछि धेरैको ध्यान सन्दिपको डिभिजन–२ को प्रदर्शनमा मोडिएको पनि छ । सन्दिपले सबै अपेक्षाहरुलाई भने अहिलेसम्म न्याय गरेका छन् । तीन खेलको समाप्तिमा सन्दिपले ९ विकेट लिइसके र उनी अहिलेसम्म सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा अग्रस्थानमा रहेका छन् । यसबीच उनको औसत इकोनोमी पनि ३ को हाराहारीमा छ जुन एक दिवसीय खेलमा निकै प्रभावशाली प्रदर्शन हो ।
हिजो युएईविरुद्ध बलिङ गर्न आएका पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै खेललाई नेपालको पक्ष्यमा पार्न मद्दत गरेका थिए । नेपाल अहिले तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले सो कायम राख्न सके विश्वकपको यात्रा थप सहज हुनेछ । कप्तान पारस खड्काले सन्दिपलाई आफ्नो खेल योजनाको महत्वपूर्ण हिस्साका रुपमा प्रयोग गर्दै आएका छन् । त्यसैले नेपालको अगाडिको यात्रामा सन्दिपको प्रदर्शनले ठूलो भाग खेल्ने पनि पक्का छ ।