उत्तराखण्ड हिमपहिरो : ऋषिगंगा जलविद्युत परियोजनामा क्षति, १५० मजदुर बेपत्ता


२५ माघ २०७७, आईतवार
43cbc63b3a858ecedf0690f6059ff447 w1000 h500 cp

नयाँदिल्ली, २५ माघ । भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरो र धौलीगंगा नदीको बाढीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ ।

उत्तराखण्डको जोशी मठक्षेत्रस्थित हिमाली क्षेत्रमा बिहान करीब दस बजेको आसपासमा हिमपहिरो गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यसपछि धौलीगंगा नदीमा आएको बाढीले चमोली जिल्लाको राइना गाउँस्थित ऋषिगंगा जलविद्युत परियोजना र बाँधमा क्षति पुग्नुका साथै त्यहाँ कार्यरत डेढ सयभन्दा बढी कर्मचारी बेपत्ता भएका छन् ।

बाढीका कारण दुईवटा जलविद्युत परियोजना र बाँधमा क्षति पुगेको छ । सबैभन्दा बढी क्षति निर्माणाधीन ऋषिगंगा जलविद्युत परियोजनामा भएको छ । त्यसैगरी सञ्चालनमा रहेको धौलिगंगामा जलविद्युत परियोजनामा पनि क्षति पुगेको छ ।

भारतीय सन्चारमाध्यमहरुले उत्तराखण्ड सरकारलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार बाढीका कारण करीब डेढ सयजना बेपत्ता छन् । यो संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ । उत्तराखण्ड चमोली र आसपासको क्षेत्रमा पश्चिम नेपालबाट हजारौंको संख्यामा नेपालीहरुका रोजगारीका लागि जाने गर्छन् । पछिल्लो घटनामा नेपालीहरुसमेत परेको आंशका गरिए पनि पुष्टि भएको छैन ।

स्थानीय प्रशासनले अलकनन्दाका तल्लो तटीय क्षेत्रमा ‘हाइअलर्ट’ जारी गर्दै आसपासका क्षेत्रलाई तत्काल खाली गाली गर्न निर्देशन दिइसकेको बताइएको छ । साथै उत्तरप्रदेशका गंगा नदीका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन प्रदेश सरकारले सूचना जारी गरिसकेको छ ।

उद्धारका लागि केन्द्र सरकारले विशेष टोली दिल्लीबाट पठाइसकेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार उद्धारका लागि देहरादुनबाट करीब ३ सय किलोमिटर टाढा रहेको हिमपहिरो गएको क्षेत्रमा उद्धारकर्मीहरुलाई जहाजबाट उतारिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७