भारत उत्तराखण्डको बाढी : २६ शव फेला, तीन नेपालीसहित अझै १९७ बेपत्ता


२७ माघ २०७७, मंगलवार
22c9dbfc39362e0731dbfe72b8e843ae w1000 h500 cp

नयाँदिल्ली, २७ माघ । भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लामा आइतबार जलविद्युत् आयोजनाको हिमनदी फुटेर आएको भीषण बाढीमा बेपत्तामध्ये सोमबार रातिसम्म २६ जनाको शव फेला परेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय अधिकारीले सोमबार राति ८ बजे पत्रकार सम्मेलन गरी तपोवन क्षेत्रमा अहिलेसम्म २६ शव र ५ मानव अंग निकालिएको जानकारी दिएका हुन् ।
जहाँबाट २ प्रहरीसहित १७१ जना अझै बेपत्ता छन् । सुरुङमा फसेका ३५ जना पनि यसैमा पर्छन् । उत्तराखण्ड प्रहरीका अनुसार पूरै चमोलीको कुरा गर्दा जम्मा १९७ जना बेपत्ता छन् । तिनको खोजी जारी छ ।

34720105f23263f1337df342b9c365e1 w1000 h500 cp

बेपत्तामा तीन नेपाली पनि
भारतको उत्तराखण्डमा पर्ने चमौली जिल्लामा आइतबार हिमनदी फुटेर आएको भीषण बाढीमा परेर बेपत्ता हुनेमा ३ नेपाली पनि परेका छन् ।

स्थानीय प्रशासनले बाढीमा परी हराइरहेका ११५ जनाको नाम सोमबार सार्वजनिक गरेको हो । जसमा नेपालका सोहन चौधरी, शंकर चौधरी र विष्णु मल्ल पनि छन् । तीनै जना कैलाली टीकापुरका बसिन्दा हुन् ।

बेपत्ता भएकामा सबैभन्दा बढी भारत उत्तर प्रदेशका बसिन्दा छन् । उत्तर प्रदेशका मात्र ४६ जना बपत्ता भएका हुन् । त्यस्तै उत्तरखण्डका ४२, झारखण्डका १३, पन्जाबका ४, बिहारका ३, नेपालका ३, पश्चिम बंगालका २, जम्मु कस्मिरका १ र ओडिसाका १ जना छन् ।

बेपत्ताको खोजी जारी रहेको स्थानीय प्रशासनले जनाएको छ । बेपत्ता हुने धेरैजसो व्यक्ति हाइड्रोपावरमै काम गर्ने मजदुर हुन् । आइतबार बिहान साढे १० बजे हिमनदी फुट्दा ऋषिगंगालगायत नदीमा ठूलो बाढी आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७