म्यानमारमा हवाई फायर गर्दै प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार


२७ माघ २०७७, मंगलवार
myanmar protest

काठमाडौं, २७ माघ । म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरा समेत प्रहार गरेको छ ।

म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौं दिन हो । प्रदर्शनमा शिक्षक, कानुन व्यवसायी, कर्मचारी लगायतको सहभागिता छ । म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूची लगायतको रिहाइको लागि दबावमूलक प्रदर्शनहरू भइरहेका छन् । हजारौंको संख्यामा रहेका प्रदर्शनलाई म्यानमारमा पछिल्लो एक दशक यताको सबैभन्दा ठूलो प्रदर्शनको रूपमा लिइएको छ ।

जनता सडकमा ओर्लिएपछि सेनाले ठूलो जमात भेला हुन प्रतिबन्ध लगाएको छ । ५ जनाभन्दा बढी व्यक्ति सार्वजनिक स्थानमा जम्मा हुन नपाइने आदेश दिइएको छ । केही शहरहरूमा राति कर्फ्यू समेत लागू गरिएको छ । तर, सेनाको आदेशको अवज्ञा गर्दै हजारौं जनता विरोध प्रदर्शनमा उत्रिएका छन् । सैन्य ‘कू’ को विश्वभर आलोचना भइरहेको छ ।

प्रदर्शनमा धेरै जना नेपालीभाषी पनि सहभागी भएका छन् । त्यहाँको सैनिक सरकारले ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको भए पनि त्यसलाई तोड्दै नेपालीभाषी पनि विरोध प्रदर्शनमा सहभागी भएका हुन् । म्यान्मारमा कार्यरत नेपाली पत्रकार दीपक भट्टराईले नेपालीभाषीले नारा लगाइरहेको संक्षिप्त भिडिओ सामाजिक सञ्जालमा राखेका छन् ।

उनले लेखेका छन्, ‘सैनिक सरकारले ५ जनाभन्दा धेरै भेला हुन लगाएको निषेधाज्ञालाई अवज्ञा गर्दै प्रदर्शनमा हिंडिरहेका बर्मेली (म्यान्मारी) ले रंगुन सहरबाट पठाएको भिडियो । आज पनि हजारौं प्रदर्शनकारी सडकमा आएका छन् । नेपालीभाषी राजनीतिमा त्यति ध्यान नदेलान् भन्ने थियो । तर धेरै जना सडकमा आएर र फेसबुकमा फोटा हालिरहेका छन् ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७