नागरिकसँग माफी मागेर राजीनामा दिनुमै प्रधानमन्त्रीको भलाई छ : संयोजक पाण्डे


१० फाल्गुन २०७७, सोमबार
Milan Pandey bibekshil

काठमाडौं, १० फागुन । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकसँग माफी मागेर राजीनामा दिए देशका लागि मात्र नभई स्वयम प्रधानमन्त्रीका लागि समेत भलाइ हुने बताएका छन् ।

आज (सोमबार) काठमाडौंमा विद्यार्थीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक पाण्डेले प्रधानमन्त्रीले युवा पुस्तालाई चिढ्याएर गल्ती गरेको समेत बताए ।

अब नेताहरूले युवा पुस्तालाई झुक्याउन नसक्ने बताउँदै संयोजक पाण्डेले भने, ‘देशमा २४ वर्षमुनि आधा जनसंख्या छ । कपुरी ‘क’ लेख्न सिक्नुभन्दा पहिले स्मार्ट फोन र गुगल चलाएर हुर्केका यो २१ औं शताब्दीका युवालाई विकास र समृद्धिको बारम्बार गफ दिएर केपी ओली र हालको पुस्ताका नेतृत्वले बारम्बार झुक्क्याएको छ । त्यसैले अब केपी ओलीको पुस्तालाई नै विस्थापन गरेर युवा पुस्ताले नेतृत्व गर्नुपर्छ,’ पाण्डेले भने ।

पाण्डेले थपे, ‘देशको, संविधानको, लोकतन्त्रको भलो केपी ओलीले नागरिकसँग माफी माग्दै राजीनामा दिनुमै छ । अझ, यसो गर्दा सबैभन्दा बढी उनको भलो हुन्छ ।’ प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमपछि उत्पन्न संकटले संवैधानिक र राजनीतिक अस्थिरता निम्त्याउनुका साथै युवाहरूमा गम्भीर नैराश्यता पनि उब्जिएको उनको धारणा थियो ।

‘कामचलाउ’ सरकारले गरेको संवैधानिक आयोगहरूका नियुक्तिहरू, प्रदेश प्रमुखको फेरबदल, सरकारी स्रोतको दुरुपयोगले लोकतन्त्रको र विधिको शासनको हत्या गरेको पाण्डेले बताए ।

शान्ति, समृद्धि र विकासका सपना पूरा हुनका लागि लोकतान्त्रिक पद्धति स्थिर र बलियो हुन जरुरी भएकाले अहिले सम्पूर्ण युवा शक्ति प्रतिनिधिसभा विघटनविरुद्ध एक भएर उभिनुपर्नेमा पाण्डेको जोड थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७