सहकार्यका लागि प्रचण्ड–नेपालको प्रस्ताव, देउवाले भने, ‘पार्टीमा छलफल गर्छु’


१२ फाल्गुन २०७७, बुधबार
prchanda deuwa madhav

काठमाडौं, १२ फागुन । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी सत्ता सहकार्यको प्रस्ताव राखेका छन् ।

बुधबार दिउँसो प्रचण्ड र नेपाल देउवालाई भेट्न देउवा उनकै निवासमा बुढानिलकण्ठ पुगेका हुन् । देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको हो । दुवै पक्ष आ–आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर अर्काे चरणको वार्तामा बस्न सहमत भएका छन् ।

भेटवार्तामा प्रचण्ड र नेपालले मिलेर जाने र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामापछि संयुक्त सरकार बनाउने प्रस्ताव गरेको देउवा निकट स्रोतले जानकारी दिएको छ । जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरी जवाफ दिने प्रतिक्रिया दिएका छन् ।

देउवाले पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गर्न भोलि पदाधिकारीको बैठक बोलाइएको जानकारी गराएका थिए । यस अगाडिको भेटमा प्रचण्ड–नेपाल समूहले देउवालाई प्रधानमन्त्रीको अफर गरेका थिए ।

‘उहाँहरुसँग प्रतिनिधि सभा पुनर्स्थापना भएपछि कसरी जाने भन्ने विषयमा छलफल भएको हो,’ देउवा निकट स्रोतले भन्यो, ‘प्रचण्ड र नेपालले मिलेर जान प्रस्ताव गर्नुभयो, सभापति देउवाले आफ्नो दलभित्र सल्लाह गरेर केहीदिनमा फेरि बैठक बस्ने कुरा गर्नुभएको छ ।’

छलफलका लागि आफ्नो निवासमा आएका प्रचण्ड र नेपाललाई देउवाले ‘तपाईहरुले भनेको कुरा ठीक छ, यस बारेमा म पार्टीभित्र छलफल र सरसल्लाह गर्छु’ भन्ने जवाफ दिएका थिए । देउवा, प्रचण्ड र नेपालबीच झण्डै आधा घण्टा छलफल भएको देउवाका स्वकीय सचिव भानु देउवाले जनाकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७