कोरोनाको खोप लगाएपछि प्रधानमन्त्रीले भने, ‘खोप सुरक्षित छ, ढुक्क भएर लगाउनुस्’


२३ फाल्गुन २०७७, आईतवार
oli khop

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगी कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

उनी आइतबार बिहान सो अस्पताल पुगेर खोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले आफै खोप लगाएर आजदेखि देशभर ६५ वर्षमाथिको उमेर समूहकालाई खोप लगाउने अभियानको आरम्भ गरेका हुन् ।

खोप लगाएर फर्कने क्रममा प्रधानमन्त्री ओलीले छोटो प्रतिक्रिया दिँदै आफूलाई कुनै समस्या नदेखिएको बताएका छन् । उनले खोप अभियानलाई सफल पार्न सबैलाई खोप लगाउन पनि आग्रह गरेका छन् । उनले खोप सुरक्षित भएकाले ढुक्कसँग खोप लगाउन समेत सबैलाई आग्रह गरे ।

‘मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं,’ प्रधानमन्त्री ओलीले भने । ११ औं दिनदेखि ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

यसअघि माघ १४ गतेदेखि पहिलो चरणमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्था कर्मचारी, पत्रकारलगायतलाई खोप दिइएको थियो । नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप आपतकालिन प्रयोग भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७