बागमतीमा ओली पक्षका तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ


१५ बैशाख २०७८, बुधबार
24c7a8d01c47b2b9d9f63cf281013db7 w1000 h500 cp

हेटाैंडा, १५ बैसाख । बागमती प्रदेशमा करिब ४ महिनादेखि रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार तीन मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् । सत्तारुढ नेकपा एमालेको ओली समूहका मात्रै सांसदलाई मन्त्री र राज्यमन्त्री बनाइएको छ ।

मुख्यमन्त्री पौडेलले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सरेश नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई नियुक्त गरेसँगै आज बुधबार अपराह्न ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

यसैगरी सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा. रामकुमार अधिकारीलाई नियुक्त गरिएको छ । अधिकारीले पनि बुधबार नै मन्त्रीहरूसँगै सपथ लिएका छन् । बागमतीको ६ वटै मन्त्रालयमा राज्यमन्त्री नियुक्त गर्नेबारे छलफल अघि बढाइए पनि हाल सामाजिक विकास मन्त्रालयमा मात्र राज्यमन्त्री नियुक्त गरिएको हो ।

नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएका थिए ।

सरकारबाट बाहिरिँदा तत्कालीन आन्तरिक मामिलामन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएपछि बागमतीका तीन मन्त्रालय मन्त्रीविहीन थिए । चार महिनादेखि मुख्यमन्त्री पौडेलले तीनवटै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७