व्यक्तिगत रिसइबीले शिक्षकको हत्या गरी शव खोलामा बगाउने सञ्जय सार्वजनिक


१० असार २०७८, बिहीबार
thumb 11

पर्वत, १० असार । बेनी नगरपालिका–५ बगुवाखोलास्थित बाल जागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो । असार ७ गते कुश्माबाट पक्राउ परेका बानियाले व्यक्तिगत रिसइबी साँध्न विद्यालयमा आएको अवस्थामा कार्कीलाई आक्रमण, कुटपिट गरी म्याग्दी नदीमा बगाएको बयान दिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए ।

‘आरोपीले अचेत अवस्थामै म्याग्दी नदीमा बगाई दिएको प्रारम्भिक बयान दिएका छन्’, उनले भने, ‘खोलामा बगाइएको कार्कीको शव भेटिएको छैन ।’ आरोपी बानियाँकी श्रीमती विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षाकी कर्मचारी हुन् ।

विद्यालयकै छात्रावासमा श्रीमतीसँगै बेपत्ता कार्यमा संलग्न बानियाँ समेत बस्दै आएका थिए । बेपत्ता कार्की र आरोपी बानियाबीच यसअघि विवाद थियो । करिब पाँच वर्ष मलेशिया र केही वर्ष भारतमा रोजगारी गरी केही महिनाअघि घर आएका बानियामाथि अनुसन्धान गर्न प्रहरीले बुधबार म्याग्दी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको छ ।

प्रहरीले घटनाको थप प्रमाण जुटाएर हत्या गरी बेपत्ता बनाएको कसुरमा मुद्दा चलाउने जनाएको छ । कार्कीमाथि आक्रमण भएको ठाउँमा रगत भेटिएको थियो । केही तल म्याग्दी नदी किनारमा कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल सेट भेटिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७