बुबाको साथी बनेर किशोरी अपहरण, पक्राउ परेका देव जेल चलान


१६ असार २०७८, बुधबार
nabin 20210630054812

सप्तरी, १६ असार । बालिकालाई अपहरण गरेको घटनाका आरोपीलाई अदालतले मङ्गलबार कारागार चलान गरेको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश ईश्वरमणि ओझाको इजलासले सप्तरीको राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा बस्ने ३५ वर्षीय नवीन देवलाई पुर्पक्षका लागि राजविराज कारागार चलान गरेको हो ।

अपहरणको खबर लगत्तै सक्रिय बनेको सप्तरी प्रहरीले १५ मिनेटमै आरोपीलाई पक्राउ गरी अपहरित बालिकाको सकुशल उद्धार गरेको थियो । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुर्‍याउनु अगावै इलाका प्रहरी कार्यालय रुपनीले आरोपीलाई पक्राउ गरी बालिकालाई सकुशल उद्धार गरेको थियो ।

राजविराजस्थित घरबाट आरोपीले जेठ २० गते ललाइ फकाई बुवाको साथी भनी झुक्याएर छलकपट गरी मोटरसाइकलमा लिएर गएको पीडितले बयान दिएकी छन् । राजविराजबाट नौ किलोमिटर उत्तर रुपनी नजिक पुगेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेपछि मात्रै बालिकाले अपहरणमा परेको जानकारी पाएकी थिइन् ।

पीडित बालिकाका अनुसार आमाबुवा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश२–०३–०१३प ४६८२ नम्बरको अपाची मोटरसाइकलमा आएका आरोपीले बुवाको साथी भन्दै लगेका थिए । आँगनमा निकै बेर वृद्ध हजुरबुबा, हजुरआमासँग कुरा गरेका आरोपितले आफ्नो बुबासँग फोन गरेजस्तो नक्कल गरी विश्वास दिलाएर झुक्याई लगेको बालिकाले बताइन् ।

वृद्धा हजुरआमाले छोराको साथी भनेर आरोपीले झुक्यानमा पारेको र विश्वासमा परेर बालिकालाई पठाएको बताए । पीडितका बुबाआमा घर आएपछि सोधखोज गर्दा छोराले कुनै साथीलाई लिन नपठाएको भनेपछि तत्कालै प्रहरीमा जानकारी गराउँदा र प्रहरी पनि सक्रिय हुँदा आरोपी पक्राउ परेका हुन् ।

बालिकाका १६ वर्षीय दाजुलाई रावविराज–३ स्थित जिल्ला भूमिसुधार कार्यालय अगाडि ओरालेर बस्दै गर्न भनेपछि दाजुले शङ्का गरी प्रहरी र आमालाई घटनाबारे जानकारी गराएका थिए । प्रहरीलाई खबर गरेलगत्तै सक्रिय बनेको प्रहरीले चारैतिर नाकामा कडाइ गरी जाँच गर्दा आरोपी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७