अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री नियुक्त


२ भाद्र २०७८, बुधबार
Asta Laxmi Shakya

हेटौंडा, २ भदौं । वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छिन् । मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन् ।

शाक्यको अहिले ८ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको सांसद अरुण नेपालले जानकारी दिएका छन् । त्यसअघि बुधबार विहान शाक्यलाई नेकपा एमाले वागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो ।

मुख्यमन्त्री पौडेलले आज वागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउनेगरी दलको नेता बनाइएको थियो । ‘वागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा शाक्य नियुक्त हुनुभएको छ,’ सांसद नेपालले भने, ‘अहिले ८ बजेपछि शपथ ग्रहण राखिएको छ ।’

मुख्यमन्त्री शाक्यको शपथसँगै सानो मन्त्रिमण्डल समेत बनाइने उनले बताए । ‘आजै सानो मन्त्रिमण्डल पनि बन्छ र मुख्यमन्त्रीसँगै शपथ हुन्छ,’ सांसद नेपालले भने । नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि नेता नेपाल समूहमै रहेकी शाक्यलाई रोक्न मुख्यमन्त्री बनाइएको चर्चा चलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७