माओवादीले तोक्यो प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला इञ्चार्ज

विचार मिल्ने शक्तिहरुसँग एकता र ध्रुवीकरणको पहल गर्ने


६ भाद्र २०७८, आईतवार
mao 2

काठमाडौं, ६ भदौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले विभिन्न प्रदेशमा रिक्त रहेका पदाधिकारी र जिल्ला (जिल्ला समन्वय समिति) को इञ्चार्ज तोकेको छ । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इञ्चार्ज तोकेको हो ।

यस्तै बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उनले बताए । उनले भने, ‘बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरु, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रुपान्तरण गरिएको छ, इञ्चार्जहरु तोक्ने काम भएको छ । त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम भएको छ ।’

उनका अनुसार कतिपय जिल्लाहरुमा केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको छ ।

‘अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यस पछाडि प्रदेश अधिवेशन गर्ने गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ’, उनले भने, ‘निर्वाचन निर्देशिका पनि तयार गर्ने काम भएको छ । हामीले निर्वाचन नियमावली र निर्वाचन निर्देशिकालाई छिट्टै तल पठाइदिने छौं र त्यसको आधारमा अधिवेशनका कामहरु सम्पन्न हुनेछन् ।

ती अधिवेशनका कामहरु, समिति निर्माणका कामहरु गर्ने क्रममा पनि राष्ट्रिय स्वाधीनताको रक्षाको विषय, साथसाथै अहिलेको कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकतावद्ध हने विषय, त्यसैगरी हाम्रो अहिलेको सन्दर्भमा प्रतिगमनप्रति सचेत हुनुपर्ने आवश्यकताका विषयसहित शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधिको अधिकतम प्रयोग जस्ता विषयमा ध्यान केन्द्रीत गर्ने कुरा सिङ्गै पार्टी कमिटीलाई निर्देशित गरिएको छ ।’

बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद् बिस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैं प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पुरा भइसकेपछि मन्त्रिपरिषद बिस्तार हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७