डोटीका स्वास्थ्यकर्मी भन्छन्– गर्भपतनलाई अस्थायी साधन नसम्झौं


१५ भाद्र २०७८, मंगलवार
Garva nirodhak
सांकेतिक तस्वीर

डोटी, १५ भदौं । डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै स्वास्थ्यकर्मीले भने चिन्ता व्यक्त गरेका छन् । असावधानीका कारण गर्भ बस्ने र त्यसलाई पतन गर्नेको सङ्ख्या बढेको चिकित्सकहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय दातृ निकाय आइपासको आर्थिक सहयोग तथा जिल्लामा कार्यरत सामुदायिक विकास मञ्चद्वारा डोटीका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै गएको हो । नचाहेको अवस्थामा गर्भ रहे वा अन्य कारण रहेको गर्भलाई पतन गर्न पाउने मान्यता स्थापित भएपछि मञ्चले सुरक्षित गर्भपतन सेवाका लागि आवश्यक सहयोग गर्दै आएको छ ।

संस्थाले जिल्लाको सायल गाउँपालिका तथा केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवाका लागि प्रत्यक्ष रूपमा सहयोग गरिरहेको कार्यक्रमका फोकल पर्सन शिद्धराज जोशीले बताए । कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पुरुष घरैमा हुँदा नचाहँदा नचाहँदै पनि गर्भ रहने गरेको महिलाहरुले बताएका छन् ।

गर्भ निरोधक साधनको प्रयोग गर्ने बानीको विकास नभएका कारण जिल्लामा पछिल्लो समय गर्भपतन सेवा लिनेको संख्या बढेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ्ग कुँवरले बताए । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाको इलाका स्वास्थ्य कार्यालय दौडमा मात्रै साउनसम्म ८० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिइसकेका कार्यालयका प्रमुख शिवराज जोशी जानकारी दिए । ‘सुरक्षित गर्भपतन सेवा लिनु राम्रो हो तर गर्भपतनले महिलाको स्वास्थ्यमा पछि गएर समस्या देखिने भएकाले गर्भपतनको भर पर्नुभन्दा गर्भ निरोधक सामग्री प्रयोग गर्नु बढी उत्तम हुन्छ ।’

केआइसिंह गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा एक वर्षको अवधिमा कम्तीमा पनि २ सय महिलाले गर्भपतनको सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार डोटीमा रहेका सबै स्वास्थ्य संस्थामा एक वर्षको अवधि कम्तीमा पनि दुई हजार २ सय भन्दा बढी महिलाले गर्भपतन गराएका छन् । गत आर्थिक वर्षमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए ।

गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा मात्रै लिनुपर्ने भएपनि पछिल्लो समय जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका तेजबहादुर शाहीले बताए । ‘समस्या परेका महिलाले सुरक्षित गर्भपतन सेवा लिनु राम्रो हो तर यो सेवा जिल्लामा अस्थायी साधनका रूपमा विकसित हुन थालेकोमा भने हामीलाई चिन्ता लागेको छ,’ शाहीले भने, ‘यसले पछि गएर महिलामा स्वास्थ्य समबन्धी समस्या उत्पन्न हुने निश्चित छ ।’ जिल्ला अस्पतालदेखि यहाँका गाउँघरका पोलिक्लिनिकसम्म गएर भए पनि महिला तथा किशोरीले गर्भपतन गराउन थालेका स्वास्थ्यकर्मीहरु बताउँछन् ।

चालू आवमा २० वर्षमुनीका २८ महिलाले सुरक्षित गर्भपतन गराएका छन् भने २० वर्षमाथिका ९७२ महिलाले यो सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसमा जिल्लाका निजी अस्पताल तथा पोलिक्लिनिकमा गरिएका गर्भपतनको रेकर्ड भने राखिएको छैन । सुरक्षित गर्भपतन सेवा दिने कानूनी मान्यता नपाएका निजी अस्पताल तथा पोलिल्किनिकको रेकर्ड हेर्ने हो भने जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या अझ धेरै देखिने जिल्ला स्वास्थ्य कार्यालयको अनुमान छ । गर्भपतन गर्दा हुने असरको जानकारी पाउँदापाउँदै पनि महिला तथा किशोरीले गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

गर्भपतन गर्नेकोे संख्या अधिक हुनुमा अस्थायी साधन प्रयोग गर्ने बानीको विकास नहुनु, अशिक्षा, अवैध यौन सम्पर्क र महिलालाई दबाब दिएर गर्भपतन गराउनु रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी अमर भाटले बताए ।

असुरक्षित रूपमा गर्भ रहेको खण्डमा निजी मेडिकलबाट समेत औषधि किन्ने तथा औषधि खाएर गर्भपतन गर्ने र औषधिको असरले उच्च रक्तस्राव हुँदै पछि जटिल समस्या लिएर महिला तथा किशोरी अस्पतालमा पुग्ने गरेका छन् । सम्बन्धित महिलाको मञ्जुरी बिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक गर्भपतन गराउन पाइने नियम छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७