आमा बन्ने भन्दा, आमा बन्नबाट उम्किने महिला बढी


२३ फाल्गुन २०७४, बुधबार
garva patan

इलाम, २३ फागुन : इलाममा आमा बन्न चाहने महिला भन्दा आमा बन्नबाट बच्न खोज्ने महिलाहरुको संख्या बढ्दै गएको छ । इलाममा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या धेरै पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय इलामको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षमा ४ हजार ८०५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् भने ४ हजार १५४ जनाले सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ । garva patan

यो संख्यामा सुरक्षित प्रसुती गराउने भन्दा गर्भपतन गराउने महिलाको संख्या ६५१ ले बढी देखिएको छ । सुरक्षित गर्भपतन सेवालाई निःशुल्क बनाएपछि गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका दिपेन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार सुरक्षित गर्भपतन गराउनेमा २० वर्षमाथिका चार हजार ३२२ जना छन् भने २० वर्षमुनिका ४८३ जना रहेको पाइएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१–०७२ मा १ हजार १७४ जना, ०७२–०७३ मा १ हजार ८१५ जना र ०७३–०७४ मा १ हजार ८१६ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यस्तै, ०७१–०७२ मा १ हजार ४७० जना, ०७२–०७३ मा १ हजार २८८ जना, ०७३–०७४ मा १ हजार ३९६ जनाले सुरक्षित प्रसुती सेवा लिएको पाइएको छ । भौगोलिक बनावटमा विविधता भएका कारण इलामका विभिन्न स्थानमा २२ वटा स्वास्थ्य संस्था तथा बर्थिङ्ग सेन्टरले सुरक्षित गर्भपतन तथा प्रसुती सेवा दिँदै आइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७