सम्पत्ति हडप्न विवाह गर्दै पतिहरुलाई विष खुवाइ मार्ने महिला पक्राउ


१३ आश्विन २०७८, बुधबार
black widow killer finally arrested1632886313

काठमाडौं, १३ असोज । ७५ को उमेरमा इसाओ काकेहीको स्वास्थ्य अवस्था राम्रो थियो । अचानक उनी प्रेममा पनि परे । २०१३ मा उनले ६७ वर्षीया विधवा चिसाको काकेहीसँग उत्साहजनक सम्बन्ध सुरु गरे । जापानी मेलमिलाप एजेन्सी मार्फत उनीहरुको भेट भएको थियो र दुई महिनामै उनीहरु विहे गरी सँगै बस्न थाले ।

सुरुवातमा इसाओको जीवनमा हर्षोउल्लास छायो । नयाँ वर्ष मनाउन भनेर उनीहरु परम्परागत खानेकुरा बनाइरहेका थिए । तर नयाँ वर्ष नदेखि उनको निधन भयो । यसरी डिसेम्बर २८ मा उनी ‘ब्ल्यक विडो किलर’ का नामले चिनिने चिसाको काहेकीका चौथा र अन्तिम शिकार बने ।

हाल ७४ वर्ष पुगेकी चिसाको यतिबेला आफ्ना तीन पतिहरुको हत्या र एकलाई हत्याको प्रयासको अभियोगमा जेलमा छिन् । उनले ६१ वर्षको उमेरमा २००७ देखि आफ्ना पार्टनरलाई मार्न सुरु गरेकी हुन् तर प्रमाण नजुटेका कारण छुटिरहेकी थिइन् । इसाओको मृत्युपछि मात्र पुलिसलाई शंका लागेर अनुसन्धान गर्दा उनी दोषी पाइएकी थिइन् ।

जापानको सार्वजानिक प्रशारक एनएचकेले भनेको छ, ‘उनले ‘म्याचमेकिङ एजेन्सी’ प्रयोग गरी बूढा मानिसहरुलाई शिकार बनाउँथिन् । पहिले सबैको विश्वास जित्दै एकपछि अर्को गरेर सबैलाई विष खुवाएर हत्या गरिन् । योजनाबद्ध र हत्या नै गर्ने बलियो उद्देश्यको यो अपराध वास्तवमै भयानक छ ।’

यो घटनाले जापानमा बुढेस्कालमा एक्लो जीवन बिताइरहेकाहरु प्रेम जालमा फस्ने प्रति अधिक संवेदनशील रहेकामा सबैको ध्यानाकर्षण गराएको छ । त्यस्तै कतिले चाहिँ मायाको नाममा बूढी भइसकेकी महिलाले किन पुरुषहरु मार्दै हिंडेको होला भनेर बहस पनि गरेका छन् ।

चिसाकोको व्यक्तिगत जीवनसम्बन्धी एकदम कमै जानकारी सार्वजनिक गरिएको छ । जापानमै जन्मिएकी उनका पहिलो पतिको विवाहको २५ वर्षपछि १९९४ मा रोग लागेर मृत्यु भयो । यसपछि २००७ मा आएर उनी ७८ वर्षीय तोसिआकी सुएहिरोसँग सम्बन्धमा बाँधिसकेकी हुन् । सुएहिरो उनका पहिलो शिकार थिए ।

उनले खाना अघि नियमित औषधि सेवन गर्ने गर्दथे र त्यही मौका पारेर चिसाकोले सजिलैगरि त्यसलाई विषाक्त रसायन ‘साएनाइड’ सँग साटिदिएकी हुन् । त्यो विष सेवन गरेको १५ मिनेटमै उनी सडकमा अचेत अवस्थामा ढले । एम्बुलेन्स आइपुग्दा उनको सास रोकिनै लागिसकेको थियो । तर समयमै अस्पताल पुरइएपछि उनी बाँचे । यसरी विष सेवनबाट बाँच्न सफल उनी चिसाकोका एक मात्र पति हुन् ।

तापनि यस घटनाले उनको आँखाको ज्योति सधैँका लागि गुम्यो र एक वर्षपछि उनको मृत्यु भयो । यसको केही समयमै चिसाको अर्को शिकारको खोजी गरिरहेकी थिइन् । मासानोरी होन्डा ७१ को उमेरका भए पनि हट्टाकट्टा थिए । २०११ मा उनको डाइबिटिज मध्यम स्तरमा पुगेको थियो । उनी विभिन्न खेलकुदका क्लबहरुमा सहभागी भइरहन्थे । उनी पनि चिसाकोसँग सम्बन्ध गाँस्न चाहन्थे । यसरी एक दिन चिसाकोसँग खाना खाइसकेपछि मोटरसाइकलमा हिँडेका होन्डा सवारी चलाउँदा चलाउँदै अचेत हुन पुगे र दुई घण्टापछि अस्पतालले उनलाई मृत घोषित गर्यो ।

पछि प्रमाण हेर्दा मात्र थाहा भयो कि चिसाकोले होन्डाको मृत्यु भन्दा दुई महिना अगाडिदेखि नै डेटिङ एजेन्सीमार्फत अन्य पुरुषहरुसँग गोप्य भेट गरिरहेकी रहिछन् । त्यस्तै उनका अर्का शिकार बने मिनोरु हिओकी जो फोक्सोको क्यान्सरपछि एक्लोपनाबाट गुज्रिरहेका थिए । २०१३ को जुलाइमा उनी रेडिएसन थेरापीबाट पूर्ण रुपमा ठीक भए । स्वस्थ भइसकेपछि ७५ वर्षीय उनी प्रेम सम्बन्ध राख्न खोजिरहेका थिए ।

त्यही क्रममा २०१३ अगस्ट सम्म उनी चिसाकोप्रति मोहित भइसकेका थिए । चिसाकोलाई इमेल पठाउँदै उनीसँग सम्पूर्ण जीवन बिताउन चाहेको बताइरहेका थिए । उनीहरु एकअर्काको घरमा रात बिताउँथे भने सधैं सँगै खाना खाएको देखिन्थ्ये । तर सेप्टेम्बर २० मा डिनरका लागि जाँदा दोस्रो श्रीमान जसरी नै उनको औषधिमा पनि चिसाकोले साएनाइड पिल मिसाइन् । त्यत्तिकैमा हिओकी अचानक बेहोस् भए र एम्बुलेन्स आउँदासम्म उनी सास फेर्न नसक्ने भएका थिए ।

छोराछोरी भएपनि एम्बुलेन्सका कर्मचारीलाई चिसाकोले कोही परिवार छैन र फोक्सोको क्यान्सरबाट अझै ठीक भएका छैनन् भनेर ढाँटिन् । त्यसो भन्दै उनले डाक्टरहरुलाई थप उपचारको प्रक्रिया अपनाउनै दिइनन् जसकारण दुई घण्टामै उनको मृत्यु भयो । यसरी समयसँगै चिसाको झन झन साहसी बन्दै गइन् । हिओकीको मृत्यु भएको २ महिनामै उनले आफ्नो अन्तिम निशाना, इसाओसँग विवाह गरिन् । र विवाहको एक महिना नहुँदै अर्को पुरुषसँग पनि गोप्य रुपमा सम्बन्ध राख्न थालेको प्रमाणमा देखिएको छ ।

इसाओसँग विवाह भएको केही हप्ता मात्र भएको थियो, पत्नीसँग आनन्दले डिनर खाइरहेका उनलाई अचानक ह्दयघात भयो । एम्बुलेन्स पनि चिसाकोले नै बोलाइन् तर एक घण्टामै तिनको पनि मृत्यु भयो ।

उनको मृत्युपछि नै पुलिसलाई कसरी चिसाकोका सबै प्रेमीको दुर्भाग्यपूर्ण मृत्यु भइरहेको छ भनेर शंका भयो । र अनुसन्धान गर्दै जाँदा उनका सबै षड्यन्त्रहरुको खुलासा भयो । जापानमा पोसमार्टम एकदम दुलर्भ अवस्थामा मात्र गरिन्छ । त्यसकारण पनि उनका पूर्वप्रेमीहरुको मृत्युबारे कसैलाई थाहा भएको थिएन । तर इसाओको मृत्यु धेरै नै शंकास्पद मानिएपछि पोस्टमार्टका लागि वारेन्टी प्राप्त भयो । यसको नतिजामा उनको मुटु, रगत अनि पेटमा अधिकतम मात्रामा विषाक्त साएनाइड फेला पर्यो ।

यसपछि अगस्ट २०१४ मा अनुसन्धानकर्ताहरुले इशओको अपार्टमेन्टमो फालेको एउटा प्लास्टिक ब्यागमा साएनाइड फेला पारे । त्यो प्लास्टिकको रङ हेर्दा महिनौँदेखि गाढिएको जस्तो देखियो । प्रिन्टिङ फ्याक्ट्रीमा काम गर्ने हुँदा चिसाकोले त्यहीँबाट साएनाइड ल्याउने गर्थिन् । यसको दुई महिनापछि चिसाकोलाई पक्राउ गरियो ।

तर उनलाई होन्डा, हिओकी र सुएहिरोलाई साएनाइडको क्यापसुल दिएर मारेको स्वीकार गर्न महिनौँ लाग्यो । यी चारको हत्या बाहेक चिसाकोले अन्य पुरुषहरुलाई पनि मारेको पुलिसलाई शंका छ । तर अपर्याप्त प्रमाणका कारण पुष्टि गर्न सकिएको छैन ।
ती चार पुरुषहरु फरक फरक शहरमा बस्थ्ये र उनीहरुको जागिर पनि फरक थियो । उनीहरु सबैमा एउटै मात्र समान कुरा भनेको अधिकतम मात्रामा सम्पति र सबै बूढा भइसकेका अनि एक्लै बस्दै आएका थिए । यसले नै उनीहरुलाई चिसाकोको उपयुक्त निशाना बनाइदियो ।

उनले पहिलो हत्या चाहिँ ऋण तिर्नबाट जोगिनका लागि गरेको अदालतको भनाइ छ । किनकी सुएहिरोलाई उनले ४ करोड ८० लाख येन दिनु थियो । त्यसैले ऋण नतिर्न उनले हत्या गरेको बताइएको छ । त्यस्तै उनले होन्डाको मृत्युपछि पनि १ लाख ४५ हजार डलर भन्दा धेरै प्राप्त गरेकी थिइन् । अन्य पुरुषहरुबाट कति रकम लिइन् भन्ने चाहिँ स्पष्ट खुलाइएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७