१४ जिल्लामा कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन सकिंदै


१४ आश्विन २०७८, बिहीबार
congress

काठमाडौं, १४ असोज । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत हिमाली जिल्लामा प्रदेशसभास्तरको अधिवेशन बिहीबार सकिंदैछ । कतिपय जिल्लामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ भने कतिपय ठाउँमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अघि बढेको छ ।

२१ हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने निर्णय बमोजिम ती जिल्लामा मात्रै अधिवेशन भएको हो । बिहीबार बेलुकासम्म सबैजसो जिल्लाको प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न हुने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । ‘धमाधम अधिवेशन भइरहेको छ, कतिपय ठाउँमा नेतृत्व चयन भइसक्यो, कतै चुनावी प्रक्रिया अघि बढेको छ, कतिपय ठाउँमा अझैपनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ, ’ उनले भने ।

केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार मंगलबार नै ती जिल्लाको अधिवेशन भइसक्नुपर्ने हो । तर, ९ असोजको पालिका तहको अधिवेशनमै ढिला भएकाले त्यसको असर प्रदेशसभा क्षेत्रीय अधिवेशनमा परेको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्य एगराज पोखरेलले समितिले २१ जिल्लामै अधिवेशन गर्न निर्देशन गरे पनि विविध कारणले अहिले सबै जिल्लामा एकै साथ अधिवेशन हुन नसकेको बताए । ‘कार्यतालिका पुरानै हो । तर, प्राविधिक कारणवश सबै जिल्लामा एकै पटक अधिवेशन हुन सकेन । हामीले कम्तिमा दसैं अगाडि हिमाली जिल्लामा अधिवेशन गरौं भनेका छौं, त्यहीअनुसार अघि बढेको छ,’ उनले भने ।

गोरखामा मंगलबारै प्रदेश सभा क्षेत्रीय अधिवेशन भइसकेको छ । त्यस्तै, सखुवासभामा पनि अधिवेशन भइसकेको छ । ताप्लेजुङ, दोलखा, मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, बाजुरा, रुकुमपूर्व, रामेछाप, गोरखा, कालिकोट र मुगुमा अधिवेशन भइरहेको छ । यीबाहेक हिमाली जिल्लाहरु सोलुखुम्बु, दार्चुला, डोल्पा, सिन्धुपाल्चोक, रसुवा, धादिङ र म्याग्दीमा भने हुन सकेको छैन । रसुवाको सदस्यताकै विषय टुंगिएको छैन । डोल्पामा वडा अधिवेशन नै भएको छैन । बाँकी जिल्लामा वडा अधिवेशन भइसके पनि पालिका तहको अधिवेशन भइनसकेकाले प्रदेश सभा क्षेत्रीय अधिवेशन रोकिएको छ ।

वडाबाट निर्वाचित क्षेत्रीय प्रनिनिधिहरु प्रदेश सभा क्षेत्रीय अधिवेशनका मतदाता हुन्छन् । हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दुई वटा प्रदेश सभा क्षेत्र छन् । प्रदेश सभा क्षेत्रीय अधिवेशनले प्रदेश क्षेत्रीय कार्यसमिति र प्रदेश सभा अधिवेशनका प्रतिनिधि चयन गर्छ । निर्वाचन समितिले १५ असोजमा प्रतिनिधिसभा क्षेत्र र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा धेरै क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ ।

तालिकाअनुसारै तयारी अघि बढाएका जिल्लामा शुक्रबारै प्रतिनिधिसभा क्षेत्रको अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । बाँकी जिल्लामा भने जिल्लाको अनुकुलता हेरेर निर्वाचन अधिकृतले नै केन्द्रीय निर्वाचन समितिसँग परामर्श गरी मिति निर्धारण गरी अधिवेशन गर्नेछन् ।

कांग्रेसले अझै पाँच जिल्लाको क्रियाशील सदस्यताकै विषयमा सहमति जुटाउन सकेको छैन । ७२ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित भएपनि अहिलेसम्म ६४ जिल्लामा मात्रै वडा अधिवेशन सम्पन्न भएको छ । तीमध्ये कति जिल्लामा पालिका तहको अधिवेशन भइसक्यो भन्ने यकिन भइसकेको छैन । काठमाडौंमा शनिबार पालिका तहको अधिवेशन हुँदैछ । हिमाली जिल्लामा दसैंअघि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्न लागेको कांग्रेसले त्यसबाहेकका जिल्लामा भने पालिका तहसम्मको अधिवेशन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७