मन्त्री छान्न जुटे माओवादी केन्द्र, नेकपा (एस) र जसपा


२० आश्विन २०७८, बुधबार
prachanda madhav upendra

काठमाडौं, २० असोज । पटक–पटकको प्रयासपछि मन्त्रालयको भागवण्डा टुङ्गो लागेसँगै सत्ता गठबन्धनमा रहेका दलहरु मन्त्री चयनमा जुटेका छन् ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल (जसपा) आफ्नो कोटामा परेको मन्त्री छनौटमा जुटेका हुन् । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बोलाइएको छ । बैठक बिहीबार बिहान ११ बजे बस्ने स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीका विषयमा बैठकमा छलफल हुनेछ । पार्टीबाट सरकारमा जाने मन्त्रीको टुंगो लागि नसकेको अर्का स्थायी कमिटी सदस्य प्रवेश हमालले जानकारी दिएका छन् । एकीकृत समाजवादीको भागमा चार मन्त्रालय परेको छ । उसले रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पाएको छ ।
एकीकृत समाजवादीमा नेताहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानी खापुङलगायत मन्त्रीका आकांक्षी हुन् ।

माओवादी र जसपाले मन्त्री छान्दै

मन्त्री छनोटलाई औपचारिकता दिन नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दै छ । यसअघि नै माओवादीले अध्यक्ष प्रचण्डलाई मन्त्री छान्ने जिम्मा दिएको थियो ।

यस्तै जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बस्दै छ । केन्द्रीय कार्यालय बालकुमारीमा ११ बजे बस्ने बैठकमा मन्त्री छनोटबारे छलफल हुने प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए । सत्ता गठबन्धनको मंगलबारको बैठकमा कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्य मन्त्री, नेकपा एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री तथा जसपाले चार मन्त्री पाउने सहमति भएको थियो ।

सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो । तर, मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाएको थिएन । गत असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेपछि गठबन्धनभित्रैबाट देउवाको आलोचना भइरहेको छ ।

सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।

गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक जनालाई पनि सरकारमा पठाएका छैनन् । यसैगरी सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७