बारका पदाधिकारी र प्रधानन्यायाधीशबीच भेटघाट


७ कार्तिक २०७८, आईतवार
Cholendra Rana sKByQ3O0WS

काठमाडौं, ७ कात्तिक । नेपाल बार एशोसिएसनका पदाधिकारीले आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर छलफल गर्दैछन् । बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकको निर्णय बमोजिम भेटघाट हुन लागेको हो ।

पछिल्लो समय जबरा कार्यकारीसँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्मा भागबण्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता विवादास्पद क्रियाकलापका कारण आलोचना भोगिरहेका छन् । बार बैठकले यिनै विषयमा जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम आइबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बारकी उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिएकी छिन् ।

प्रधानन्यायाधीश जबरा निरन्तर विवादमा तानिँदै गएपछि पूर्व न्यायाधीश फोरमले उनलाई निकास दिन आग्रह गरेको छ । उनले त्यसरी निकास नदिए प्रतिनिधिसभालाई उनीमाथि छानबिन गरी आफ्नो संवैधानिक कर्तव्य पूरा गर्न पनि स्मरण गराएको छ । पूर्व न्यायाधीशहरू समेत प्रधानन्यायाधीश जबराविरुद्ध मुखरित भए पनि बारले केही पहल नलिएको भन्दै सार्वजनिक आलोचना भइरहेको छ ।

कात्तिक ५ मा बसेको बार बैठकले गोला प्रथाद्वारा पेसी सूची प्रकाशन गर्ने प्रणाली लागू गर्न समय सीमासहितको प्रतिबद्धताका लागि प्रधानन्यायाधीशलाई १५ दिनको समय दिएको थियो । बारले प्रधानन्यायाधीशसँग आजको भेटपछि थप धारणा सार्वजनिक गर्ने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७