‘इच्छा विपरीत घाँटी दबाएर हामी कोपिलामाथि स्वार्थ नतेर्साऊ’


११ कार्तिक २०७८, बिहीबार

काठमाडौं, ११ कात्तिक । नोटकापीमा खिपिएको यो कवितांश १७ बर्षीया किशोरीको हो । कुनै बेला उनको इच्छा विपरीत यो कवितांश जस्तै दर्दनाक जीवन थियो । सानै उमेरदेखिका भोगाइहरू दर्दनाक थिए । ती भावना बने अनि पोखिए आफ्नै शब्द र लयमा ।

सिन्धुली घर भएकी रमिला तामाङ (परिवर्तित नाम) । आठ महिनायता काठमाडौंमा माइती नेपालको सेल्टरमा छिन् । उनी यहाँ आइपुग्नुका कहालीलाग्दा थुप्रै कहानी छन् । तीन जनाको मध्यम परिवार थियो । उनी एक्ली छोरी थिइन् । जग्गा जमिनमा प्रशस्त उब्जनी हुन्थ्यो । घरखर्च दरिलो बनाउन बुवा विदेशिएका थिए । आमाले घर र छोरी सम्हालेकी थिइन् । तरकारी, अन्न, रक्सी बेचेर सहकारीमा बचत गर्थिन् । खान, लगाउनको समस्या थिएन ।

बुवा विदेशबाट फर्केपछि भने घरमा समस्या भित्रियो । उनी रक्सी खाएर लट्ठ पर्थे । रमिलाकी आमालाई पिट्थे । दुई बर्षपछि बहिनी जन्मिइन् । आमा–बुवाको झगडा, कचकच र किचलो झन–झन बढ्यो । रमिला आठ बर्षकी हुँदा बाआमाले सम्बन्ध नै टुंग्याए । फाँटिला खेतबारी र बीचमा बनेको सुन्दर घर बेचे । पैसा भागबन्डा गरेर छुट्टिए । रमिलालाई घर र खेतको याद आइरहन्छ । त्यहाँ उनले बाल्यकाल बिताएकी थिइन् । बाआमाको सम्बन्ध विच्छेदपछि उनी, बहिनी र आमा मावली गएर बस्न थाले । बुवासँग भेट हुन पाएन ।

मावली घरमा १२ जनाको परिवार थियो । रमिलाले घरधन्दा, घाँसपात, मेलापात भ्याएर स्कुल जानुपर्‍थ्यो । राम्रो लेखपढ गर्ने चाहना भए पनि उनले नियमित र समयमा विद्यालय जान, गृहकार्य गर्न पाइनन् । ‘मामाघरमा बस्न थालेपछि बाबाको रिसले मामा, माइजुहरुले पिट्ने, दुःख दिने गर्नुभयो, पढ्न नपाएकोले चिन्ता लाग्थ्यो,’ उनले भनिन् । १० कक्षामा परीक्षा फारम भर्ने खर्च समेत पाइनन् । पढाइ छुट्यो । मामा, माइजुको यातनाले धेरै पीडा दिन्थ्यो । खेतमा आली काट्ने, बाउसे गर्ने जस्ता काम सकीनसकी खट्नु पर्‍थ्यो । नत्र मामाले लात्ताले हान्थे । बस्तु बाध्ने खाँबोले हिर्काउँथे । त्यही पिटाइले गर्दा उनलाई ढाड दुख्ने व्यथाले च्यापेको छ ।

पीडा खप्न नसकेर उनले मावली घर पनि छोड्ने निधो गरिन् । उनकै जसरी घरमा दुःख पाएर काठमाडौं छिरेकी साथीसँग सल्लाह गरिन् । साथीले काम गर्दै पढ्न सकिने आशा देखाइन् । आमासँग सल्लाह गरेर रमिला पनि ०७६ माघमा बस चढेर बिपी राजमार्ग हुँदै काठमाडौं आइपुगिन् । उनी त्यतिबेला १५ बर्षकी थिइन् । साथीको डेरा बालकुमारीमा थियो । साथीले डेरा नजिकैको खाजा पसलमा मासिक छ हजार रुपैयाँ तलब दिने काम खोजिदिइन् । खाजा पकाउने, ग्राहकलाई दिने, भाडा माझ्ने काम थियो । साहुजी र ग्राहकले मन नपर्ने बोलीचाली र व्यवहार देखाएपछि उनलाई यो काम मन परेन ।

साथीसँग अर्कै काम खोजीदिन आग्रह गरिन् । साथीले पनि आलु चिप्स बनाउने कारखानामा काम खोजिदिइन् । तलब मासिक छ हजार रुपैया नै । विहान ९ देखि ५ बजेसम्म खट्नुपर्ने । त्यहाँ पनि कारखाना मालिकको पत्नीले नराम्रो गरेपछि काममा उनको मन बसेन । एक दिन लगनखेलमा लुगा किन्न जाँदा पसलमा काम गर्ने मान्छे चाहिएको रहेछ । उनलाई लुगा पसलको काम गर्न ठिक होला भन्ने लाग्यो र आफू कामको खोजीमा रहेको बताइन् । कोरोना महामारीले गर्दा पसलको काम गर्न नपाउदै लकडाउन भयो । उनी सिन्धुली फर्किन् ।

रमिलालाई सिन्धुलीबाट काठमाडौंको दुःखमा फर्कने मन थिएन । परिवारमा सबैलाई सम्झाएर पढ्ने सोच बनाइन् तर उनलाई मामाले मरणासन्न हुनेगरी पिटे । मामाघर बस्न मन लागेन । आमासँग गाडी भाडा मागेर तीन महिनापछि नै अर्को साथीसँग उनी काठमाडौं फर्किन् । एयरपोर्ट नजिकैको गेष्ट हाउसमा दिनको तीन सय रुपैयाँ भाडा पर्ने कोठा साथीले खोजिदिइन् । यो पटक आफैं काम खोज्न गल्ली गल्ली चहारिन् । चाबहिलको एक रेस्टुरेन्टमा वेटरको काम पाइन् ।

एक दिन फेसबुक चलाउंदै गर्दा फेसबुकबाटै चिनजान भएको दिदीले म्यासेज लेखिन्, ‘मेरो गेष्ट हाउसमा महिनाको आठ हजार दिने वेटरको काम छ, आऊ, राम्रो कमाइ हुन्छ ।’ त्यो लोभ देखाउने प्रिया विक थिइन् । रमिलाले चाबहिलमा काम गर्न थालेको तीन महिना बितिसकेको थियो । अलि बढी तलब पाउने भएपछि भोलिपल्टै उनी कोटेश्वरस्थित गेष्ट हाउस पुगिन् । काम गर्ने भए ‘इन्ट्री’ शुल्क बुझाउनु पर्ने भनियो । उनको खल्तीमा जम्मा १७ सय थियो । सात सय गोजी खर्च राखेर एक हजार बुझाइन् । ‘काम गर्छु’ भन्ने विश्वास दिलाउन पैसा बुझाएपछि उनी गेष्ट हाउसबाट बाहिर निस्कनै पाइनन् ।

दुई हप्तासम्म वेटरको काममा लगाए । त्यसपछि ग्राहकरुसँग बोल्नुपर्ने, जिस्किएर बस्नुपर्ने । धेरै बिल उठाउनु पर्ने । विस्तारै कोठाको चाबी दिएर ग्राहकहरुसँग पठाउने गर्न थाले । आफूले वेटरबाहेक काम नगर्ने भन्दा अपशब्द सुन्नु पर्‍थ्यो, गाली खानुपर्‍थ्यो ।

‘साहुले नयाँ केटी आएको छ भन्ने, ग्राहकले यति पैसा दिन्छु, उति दिन्छु भनेर बार्गेनिङ गरेर आउने, आफूलाई मन नभएको काम गर्नुपर्ने’ उनले भनिन् । प्रियाले घर भाडामा लिएर गेष्ट हाउस चलाउँदै आएकी रहिछन् । त्यहाँ अरू केटीहरू पनि थिए । उनीहरू गाँजा, गोटी जस्ता लागु पदार्थ खान्थे । उनलाई पनि खान जबरजस्ती गर्थे । झुक्याएर कोकमा रक्सी मिसाएर खुवाउँथे । चुरोट खान सिकाए ।

सबैभन्दा कम उमेरकी र नयाँ चाहिं रमिला मात्रै थिइन् । वाध्य भएर शरीर बेच्नुपर्दा उनलाई दुःख लाग्थ्यो । त्यहाँ दिनमा २-३ जना ग्राहकरुसँग यौन सम्पर्क गर्नुपर्‍थ्यो । रमिलाले त्यहाँबाट फुत्किन कोशिस गरिन् । एयरपोर्ट नजिकै बस्न थालेको गेष्ट हाउसको भाडा ६ हजार ६४० रुपैयाँ बाँकी थियो । ‘त्यो तिरेर फर्कन्छु’ भन्दा काममा आएको मान्छेले निस्कन पाइँदैन भन्दै झपारे । राति प्रियासँगै सुत्नु पर्‍थ्यो । बिहानै ग्राहक आए भने गई दिनुपर्‍थ्यो । ग्राहकले रमिलाको लागि ‘बार्गेनिङ’ गरेर आउँथे ।

साहुले ग्राहकबाट दुई हजारदेखि पाँच हजारसम्म लिन्थे । रमिलालाई पाँच सयदेखि पन्ध्र सय दिने भनेर फकाउँथे । ग्राहकहरुले टिप्स दिएको बाहेक उनले पारिश्रमिक पनि पाइनन् । दिनभर वेटरको काम, भाडा माझ्ने र ग्राहकहरू रिझाउनुपर्ने । थाकेर लखतरान पर्थिन् । कहिलेकाही साहुले पनि यौन सम्पर्कको प्रस्ताव राख्थे । उनले नमानेपछि ‘पैसा कमाउन आएकाले जे पनि गर्नुपर्छ’ भन्दै अपशब्द बोल्थे । संवेदनशिल अङ्गहरूमा छोइदिने गर्थे । रमिला सोच्दै नसोचेको बन्धनमा फसिन् । सबैले उनलाई निगरानी गर्थे । यस्तो बेला उनीसँग भगवान पुकार्ने बाहेक विकल्प रहेन ।

‘मेरो घरमा बुवाआमा नछुटिएको भए, म यो हालतमा आइपुग्थिनँ, आफूसँगै पढेका साथीले प्रगति गरेर कहाँ पुगे, म कस्तो नरकमा पुगें भनेर शौचालयमा गएर चिच्याउथेँ, रुन्थें ।’ उनी भन्छिन् । कहिलेकाहीं प्रहरीहरू ‘चेकिङ’ गर्न आइपुग्थे । साहुले उनलाई हतार–हतार लुकाउँथे । कोठामा चाबी लाइदिन्थे । कहिले पुराना केटीहरुसँग घुम्न पठाई दिन्थे ।

आफूलाई खोज्दै–खोज्दै प्रहरी आइपुगुन् र फुत्किन पाउँ भन्ने रमिलालाई लाग्थ्यो । त्यो दिन बल्ल ०७७ माघ १४ मा जुर्‍यो । उनी गेष्ट हाउसको माथिल्लो तलामा थिइन् । अरु केटीहरू भागे । कसैले उनलाई लुकाउन पाएनन् । गेष्ट हाउसकी साहु प्रिया विकले पनि थाहा पाएकी रहिनछिन् । रमिला र प्रियालाई प्रहरी र माइती नेपालको टोलीले एकैचोटी नियन्त्रणमा लियो । ‘आज चाहि बचेछु’ भन्ने रमिलालाई लाग्यो । तैपनि सँगै भएकी साहुको डर थियो । पक्राउ गर्‍यो भने ‘वेटर बसेको हुँ’ भनेर झुटो बोल्न सिकाएकी थिइन् । साहुको डरले सुरुमा त ढाँटिन् पनि । रमिलाको आँखाबाट आँशु खसिसकेको रहेछ, अनि त झुटो बोलेको पोल खुल्यो । उनलाई माइती नेपालले उद्धार गरेर ल्यायो ।

अचेल कक्षा ९ मा पढाइ दोहोर्‍याउँदै छिन् । उच्च शिक्षा सकेर न्याय र सुरक्षाको क्षेत्रमा काम गर्ने उनको लक्ष्य छ । उनलाई देह व्यापारमा लगाउने प्रिया विकविरुद्ध माइती नेपालले मानव बेचविखन तथा ओसारपसार विरुद्धको मुद्दा चलाएको छ । साहुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ । अझै पनि न्याय पाएको महसुस हुँदैन रमिलालाई । उनी भन्छिन्, ‘मलाई पीडा दिनेले त सजाय भोगिरहेको छ, तर कति दिदीबहिनीहरूबाट फाइदा उठाउने अपराधीहरू खुल्लमखुल्ला हिंडिरहेका छन्, उनीहरू सबैलाई कारबाही नगरिंदासम्म म कसरी खुशी हुन सक्छु ?’

रमिलाले सेल्टरमा बस्न थालेपछि कानुनी ज्ञान पनि पाएकी छन् । उनलाई लाग्छ, प्रहरी, प्रशासन र अदालत जस्ता न्यायिक निकायले आफ्नो जिम्मेवारी राम्ररी निभाउन सकेका छैनन् । संवेदनशीलता नभएकै कारण धेरै पटक ‘चेकिङ’ पछि मात्रै आफ्नो उद्धार हुन सकेको बताइन् ।

रमिलासँग भेट भएको दिन दशैंको चहलपहल थियो । मानिसहरू दशैं मनाउन गाउँ गइरहेको दृष्य टेलिभिजनका पर्दा र पत्रपत्रिकामा देख्दा उनलाई घरको न्यास्रो लागेको थियो । आफू सेल्टरमा आइपुगेको कथा उनले आमालाई सुनाउन सकेकी छैनन् । दशैंमा आमाले पनि सम्झेर फोन नगरेकोमा दुःख मानेकी थिइन् । उनी भन्थिन्, ‘यहाँ म्यामहरूले आफ्नो नानीहरूलाई कत्ति ‘केयर’ गर्नुहुन्छ, मेरो मम्मीले त्यस्तो माया कहिले देखाउनु भएन ।’

रमिला काठमाडौं आउने बेला बहिनीले ‘लुगा किनेर ल्याई दिनु र खाजा खाने पैसा ल्याइदिनु है दिदी ?’ भनेकी रहिछन् र बहिनीले विदाइको हात हल्लाएको बर्ष दिन बित्यो । उनी भक्कानिइन्, ‘अहिले मसँग सात-आठ हजार रुपैयाँ छ, पहिले काम गरेर फाइनान्समा जम्मा गरिराखेको थिएँ, यसैले बहिनीलाई नयाँ लुगा किनेर लगिदिने मन छ, एकै झल्को मात्रै हेर्न पाए हुन्थ्यो, उसले पनि मैले जस्तै बेस्सरी दुःख पाएकी छ होला ।’

राष्ट्रिय मानवअधिकार आयोगको ‘मानव बेचविखनसम्बन्धी प्रतिवेदन २०७६’ मा डान्सबार, दोहोरी साँझ, रोधी, मसाज पार्लर, क्याबिन, गेष्टहाउस, डिस्को लगायत मनोरञ्नात्मक व्यवसायहरूमा महिला तथा बालबालिकाको जबरजस्ती श्रम, यौन शोषण तथा बेचबिखन भइरहेको उल्लेख छ । देशका प्रमुख पर्यटकीय एवं शहरी क्षेत्रहरू इटहरी, धरान, काठमाडौं, पोखरा, बुटवल लगायतका क्षेत्रमा मनोरञ्जन तथा सत्कार व्यवसायको बढ्दो संख्यासँगै मानव बेचविखन तथा ओसारपसारमा टेवा पुगेको छ । ‘बेचविखनलाई सीमापार आवागमनसँग मात्रै जोड्ने गरिन्छ, तर शहर बजारमा हाम्रै घर छेउछाउमा यस्तो अपराध भइरहेको छ,’ अधिवक्ता उमा तामाङले भनिन्, ‘केटीहरू भेला पार्ने, कोठी ‘स्टाइल’ ले गेष्ट हाउस चलाउने क्रम एकदमै बढेको छ ।’

मानव बेचविखन अनुसन्धान व्युरोका प्रवक्ता अनुरागकुमार द्विवेदीका अनुसार आर्थिक रुपले विपन्न र चेतनामा कमजोर रहेको वर्गको महिला र बालिकाहरुलाई जबरजस्ती श्रम, यौन शोषण तथा बेचबिखनमा लगाइन्छ । ‘घर, परिवारमा राम्रो पालनपोषण, माया नपाएर गाउँबाट शहर बजार छिर्छन्, साथीसंगत, तडकभडक, देखासिखीले गर्दा कम उमेरका बालिकाहरू देह व्यापारको सिकार भइरहेका छन्,’ उनले भने । आर्थिक अभाव, पारिवारिक अपहेलना, गरिब परिवारका महिला बालिकालाई धेरै कमाइ हुने लोभ देखाएर मुख्य गरेर देह व्यापार गराइन्छ । कोरोना महामारीले रोजगारी गुमेपछि काम खोज्दै जाँदा उनीहरू बेचविखनमा पर्ने गरेका छन् ।

काभ्रेपलाञ्चोककी १६ बर्षीया कविता (नाम परिवर्तन) पनि मजदुरी गरेर जीविका चलाउँथिन् । कोरोना महामारीले काम बन्द भयो । फेरि नयाँ काम पाउन मुस्किल भइरहेको थियो । उनले दुई बर्षअघि ओखलढुंगाका एक युवकसँग विवाह गरिन् । दुवैको आयस्रोत गुमेपछि घरायसी झगडा हुन थाल्यो । चार महिनायता कविताका पति सम्पर्कविहीन भए । कविता एक्लैले घर व्यवहार र ११ महिने छोरीको पालनपोषण गर्नुपर्ने भयो । उनले आफ्नै बुवाको चिनजानको साथीको घर (मुलपानी) मा भाँडा माझ्ने काम पाइन् । केही दिन काम गरेपछि घरधनीले ग्राहकहरुसँग जबरजस्ती यौन पेशामा लगाए ।

‘ग्राहकको इच्छा पूरा नगरे भाँडा माझ्ने काम गर्न पनि नदिने भन्यो, नमाने गाली गर्ने, कुट्ने, बाध्यता भयो,’ उनले भनिन् । उनी बिहान जोरपाटी डेराबाट छोरी च्यापेर मुलपानी पुग्थिन् । ग्राहकहरू आएपछि छोरी अरूले राख्थे । उनी चाहिं ग्राहकको यौन प्यास मेटाउन कोठामा छिर्नुप¥थ्यो । प्रति ग्राहक ५ सय रुपैया दिने भने पनि तत्कालै दिइंदैन थियो । उनले त्यहाँ काम गर्न थालेको एक हप्तापछि उनीसहित पाँच जना किशोरीलाई उद्धार गरिएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोगमा मानव बेचबिखन शाखाकी फोकल पर्सन यशोदा बन्जाडेले आन्तरिक बेचविखन बढिरहे पनि उजुरी कम पर्दा यकिन तथ्यांक निकाल्न नसकेको बताउँछिन् । ‘बेचविखनको धेरैजसो जाहेरी नै परेको देखिंदैन, यसले गर्दा यति नै संख्यामा बेचविखन भइरहेको छ भन्न सकिंदैन, तर होटल व्यवसाय, मनोरञ्जनका नाममा बेचविखन बढिरहेको छ,’ उनले भनिन् । मानव बेचविखन व्युरोको तथ्यांकले गत बर्ष १३४ वटा मात्रै मुद्दा दर्ता भएको देखाउँछ । व्युरोका अनुसार पछिल्लो दुई आर्थिक बर्ष ०७६ /०७७ र ०७७ /०७८ मा कोरोना महामारी, लकडाउन तथा निषेधाज्ञाले न्यायिक निकायसम्म आउजाउ गर्न सार्वजानिक यातायात ठप्प भएकोले मुद्दा संख्या, पक्राउ संख्या, पीडित संख्या, फरार संख्या घटेको देखिन्छ ।

अभियुक्तहरू लुकीछिपी बेचविखनमा संलग्न हुने हुँदा फरार संख्या बढी देखिन्छ । पछिल्लो तीन बर्षमा एक हजार १६१ अभियुक्तमध्ये ४६८ अझै फरार छन् । ‘अपराध गरेपछि भाग्छन्, खोजी गरेर पक्राउ गर्न समय लाग्छ, कतिपयको मुद्दाको प्रमाण जुटाउँदा समय लाग्छ ।’ मानव बेचविखन अनुसन्धान व्युरो प्रमुख दुर्गा सिंह भन्छिन्, ‘समय लाग्ने भएकैले बेचविखनको मुद्दामा हदम्याद छैन, पीडितको मृत्यु भए पनि पीडकले उन्मुक्ति पाउँदैन,’ जाहेरी कम पर्ने भएकाले मुद्दा थोरै देखिएको उनले बताइन् ।

मानव बेचविखनको जोखिममा महिला र बालिकाहरू धेरै रहेको तथ्यांकले देखाउँछ । फकाइफुल्याइ, लोभलालचमा फसाएर देह व्यापारमा प्रयोग गर्न, डरत्रास देखाएर अपराध ढाकछोप गर्न सजिलो हुने भएकाले उनीहरूको बेचविखनको संख्या बढी देखिएको मानव बेचविखनको क्षेत्रका काम गर्दै आएका विश्व खड्काले बताए ।

पछिल्लो तीन बर्षमा सात सय सात पीडितमध्ये ८७ प्रतिशत अर्थात ६१८ जना पीडित महिला र बालिका थिए । गत बर्ष उद्धार गरिएका १८७ जना मानव बेचविखनका पीडितमध्ये महिला – बालिका मात्रै १८३ जना थिए । तीमध्ये ४३ प्रतिशत अर्थात ७९ जना १८ बर्षमुनिका बालिकाको उद्धार गरिएको थियो । आन्तरिक बेचविखनलाई नियमन गर्न प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा विभिन्न संघसंस्थाहरूको सहकार्यमा जिल्लास्तरीय अनुगमन टोली बनाएर नियन्त्रणलाई गति दिने योजना बनाइरहेको मानव बेचविखन व्युरोका प्रवक्ता द्विवेदीले बताए ।

मानवअधिकार आयोगले सरकारलाई आन्तरिक बेचविखनलाई प्राथमिकता दिनुपर्ने, नियमित अनुगमन गर्नुपर्ने, अस्पष्ट नीतिगत व्यवस्थाहरुलाई समयसापेक्ष सुधार गरी कार्यान्वयन गर्नुपर्ने सुझाव दिंदै आएको आयोगमा फोकल पर्सन यशोदा बञ्जाडेले बताइन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाकी प्रमुख मीना पौडेल भन्छिन्, ‘एक देशबाट अर्को देश बेचविखन हुन्छ भन्ने इतिहासबाट यो अभियान सुरू भएको सीमापारमै केन्द्रित भएको जस्तो लाग्छ, हामीले देशभित्रै ७७ वटै जिल्लामा नियमन गर्ने गरी ऐनको परिभाषादेखि कार्ययोजना, जे जति अस्पष्टता छन् तिनको संशोधन गरिरहेका छौं, यो बर्षभित्रमा अन्तिम रूप दिने लक्ष्य छ ।’ मन्त्रालयले बनाउने नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्न प्रदेश र स्थानीय सरकारले जागरुक भएर काम गर्नुपर्ने उनले बताइन् ।

नेपालमा मानव बेचविखन जस्तो जघन्य अपराध कानुनी रूपमै वर्जित छ । यदि यस्तो कसुर गरेको ठहरिएमा मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ (संविधान अनुकुल केही संशोधन ०७५ सहित) बमोजिम अभियुक्तलाई दण्ड सजाय र पीडितलाई क्षतिपूर्तिको व्यवस्था छ । किन्ने, बेच्ने वा वेश्यावृतिमा लगाउने उद्देश्यले नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १० बर्ष कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । बालबालिका लगेको भए १० देखि १२ बर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ । अदालतले कसुरदारलाई जरिवानाको ५० प्रतिशत रकम पीडितलाई क्षतिपूर्ति भराउनुपर्छ । कसुरदारबाट पीडितले क्षतिपूर्ति पाउन नसक्ने स्थितिमा अदालतले पुनस्र्थापना कोषबाट क्षतिपूर्ति भराउने आदेश गर्नसक्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७