गतिलो नेतृत्व नहुँदा कांग्रेस र मुलुक दुवै अस्त व्यस्त भए : पौडेल


१५ कार्तिक २०७८, सोमबार
ramchandra paudel
फाइल फोटो

धनुषा, १५ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गतिलो नेतृत्व नहुँदा पार्टी र मुलुक दुवै अस्तव्यस्त भएको असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रेस युनियन धनुषाले सोमबार बिहान जनकपुरधाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले गतिलो नेतृत्व नहुँदा कांग्रेस अस्तव्यस्त भएको बताए । उनले देशमा भएको राजनीतिक परिवर्तनपछि गतिलो र कुशल नेतृत्व अभावमा देश नै अधोगतितर्फ अघि बढेको पनि गुनासो गरे ।

‘७० वर्ष लामो आन्दोलन र त्यागबाट लोकतन्त्र ल्याएका हौं’, उनले भने, ‘त्यत्रो त्याग र बलिदानीबाट आएको परिवर्तनलाई संस्थागत गर्ने बेला जताततै भाँडभैलो छ । न्यायलयसहितका संवैधानिक निकायहरूमा अस्तव्यस्त छन् ।’ पौडेलले संसद पनि चल्न नसकेको गुनासो गरे । ‘देशलाई नै अहिले अस्तव्यस्त बनाइएको छ,’ उनले भने, ‘यस्तो अवस्था देख्दा लोकतन्त्र रक्षाका लागि आमजनताले उत्रिनु पर्ने बेला आएको छ ।’

संविधानका कजोरीलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने जस्तै संविधान संशोधन हुन नसक्ने उनले बताए । संविधान संशोधनको मुद्दालाई उचाल्दा देश फेरि अस्तव्यस्त र द्वन्द्वमा जान सक्ने पनि चेतावनी दिए । न्यायपालिकाको समस्याबारे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्र छलफल राख्न आग्रह गरेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७