बाह्रबिसे सबस्टेशनको काम छिट्टो सक्न ठेकेदार कम्पनीलाई कुलमानको ‘अल्टिमेटम’


१५ कार्तिक २०७८, सोमबार
kulman

सिन्धुपाल्चोक, १५ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेशनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न समयसीमा (अल्टिमेटम) दिएको छ ।

सबस्टेशन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेशन कन्ट्रक्शन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न चार महिनाको अल्टिमेटम दिएको छ ।

खिम्ती, तामाकोसी र भोटेकोशी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ उपत्यकामा ल्याउन तामाकोशी–काठमाण्डौ उच्च क्षमताको प्रसारण लाइन र सबस्टेशन निर्माण सुरु गरिएको हो । प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यु खिम्ती, बाह्रबिसे र काठमाण्डौको लप्सीफेदीमा ४०० केभीको सबस्टेशन पनि निर्माण गरिरहेको छ । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेशनको निर्माण भइरहेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेशन निर्माणस्थलको निरीक्षण गरी चार महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ ।

‘झण्डै दुई वर्षअघिको भन्दा निर्माणस्थलमा गर्नुपर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, चार महिना हेर्छाै, त्यसपछि पनि काममा सुधार भएन भने ठेक्का सम्झौताअनुसारको कारबाहीको प्रक्रिया अगाडि बढ्छ’, ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै कार्यकारी निर्देशक घिसिङले भने ।

ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार गरिएकाले चार महिनामा कामको प्रगति हेर्न अनुरोध गरेका थिए । ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भइ नयाँ टिम आएकाले अहिले काममा केही प्रगति देखिएको छ ।

कम्पनीले सबस्टेशनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरू ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेशनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहने छन् ।

सबस्टेसन निर्माणपछि स्थानीय रूपमा बाह्रबिसे बजारबाट सबस्टेशनसम्म जाने झण्डै साढे चार किलोमिटर सडक जीर्ण रहेकाले निर्माणस्थलमा उपकरणहरू तथा निर्माण सामाग्री ढुवानीका लागि समस्या छ । वाग्मती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेशनमा जोडिने छ ।

यसैगरी, रामेछापको खिम्तीमा रहेको न्यु खिम्ती सबस्टेशनबाट बाह्रबिसे हुँदै काठमाण्डौको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोशी–काठमाण्डौ प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनअन्तर्गत न्यु खिम्ती–बाह्रबिसे खण्डमा पर्ने एक सय १५ वटा टावरमध्ये ३५ वटा टावरको जग हालिएको छ भने ६ वटा उठाइएको छ । ४४ किलोमिटर यस खण्डको निर्माण आउँदो साउनभित्र सक्ने लक्ष्य राखिएको छ ।

यो लाइन बनाउने जिम्मा पनि बाह्रबिसे सबस्टेशनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दा समेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेन्डरमा भारतीय कम्पनी केईसी इन्टरनेशनल छनोट भएको थियो ।

बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने एक सय २२ टावरमध्ये ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयवासीको अवरोधलगायतका कारणले निर्माण प्रभावित भएको छ । भारतीय कम्पनी लार्सन एन्ड टर्वो (एलएन्डटी) ले ठेक्का पाएको यस खण्डको निर्माण आउँदो साउनभित्र सक्ने लक्ष्य राखिएको छ । लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ । यस खण्डको निर्माण ठेक्का पनि एलएन्डटीले नै पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७