कर्णालीका मुख्यमन्त्री शाहीले आजै राजीनामा दिंदै, तीन मन्त्री पनि बिदा हुँदै


१५ कार्तिक २०७८, सोमबार
Mahendra bahadur sahi cheif minister karnali province scaled

सुर्खेत, १५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही राजीनामा दिन तयार भएका छन् । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आफूसँगको छलफलमा मुख्यमन्त्री शाही राजीनामा दिन सकारात्मक भएको जानकारी दिएका छन् । ‘राजनीतिमा अल्टिमेटम भन्ने हुँदैन । हामीबीच भएको समझदारीअनुसार मुख्यमन्त्रीजी अगाडि बढ्नु हुन्छ भन्नेमा विश्वस्त छु’, ‘क्याबिनेट बोलाइएको छ, राजीनामा आउँछ भन्नेमा विश्वस्त छु ।’

नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उनले राजीनामा दिन लागेको कर्णाली प्रदेशका एक मन्त्रीले जानकारी दिए । कांग्रेस–माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो ।
त्यही सहमति अनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो । उक्त सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बनेका शाही बाहिरिन लागेका हुन् ।

मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिएका थिए । राजीनामा दिनुअघि मुख्यमन्त्री शाहीले अपरान्ह क्याविनेट बैठक बोलाएका छन् । यस्तै कर्णाली प्रदेश सरकारकी प्रवक्ता सीताकुमारी नेपालीले पनि बैशाख ३ को सहमति कार्यान्वयनका लागि मार्गप्रशस्त हुन सक्ने बताइन् । यद्यपि अहिले छलफल जारी रहेकाले के हुने भन्न नसकिने उनको भनाइ थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार शाहीले आजै साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सो बैठकमा शाहीको राजीनामाको विषयमा छलफल हुने बुझिएको छ ।

तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्नेगरी महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीबीच लिखित सहमति भएको बताइँदै आएको छ । सोही सहमति कार्यान्वयन गर्नुपर्नेमा काँग्रेसले जोड दिँदै आएको छ ।
तीन मन्त्री पनि बिदा हुँदै
यता महेन्द्रबहादुर शाही मन्त्रिपरिषद्का तीन मन्त्रीको समेत पदावधि सकिएर विदा हुँदैछन् । गत वैशाख ३ ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमालेका तत्कालीन तीन सांसदहरुको पद गएको थियो ।

उनीहरू प्रदेशसभा सदस्य नरहेका कारण कात्तिक १५ देखि सरकारबाट बिदा हुनुपर्ने थियो । एमालेका तत्कालीन सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा ‘फ्लोर क्रस’ गरेपछि एमालेको कारबाहीमा परेका थिए ।

ज्वालाबाहेक अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, कुर्मराज शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् । शाहीलाई मुख्यमन्त्रीबाट राजीनामा नगराउन नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रयास गरेको थियो ।

तर, गठबन्धनबीचको सहमति कार्यान्वयनको गर्नुपर्ने अध्यक्ष प्रचण्डको निर्देशनअनुसार शाहीले राजीनामा दिने भएका हुन् । गठबन्धनबीचको सहमति कार्यान्वयन कर्णालीबाट गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेशका सचिव रामदीप आचार्यले बताए । कर्णाली प्रदेशमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीचको गठबन्धन सरकार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७