प्रधानमन्त्री देउवा आज स्वदेश आइपुग्दै


१८ कार्तिक २०७८, बिहीबार
PM arrival 1gmAKnOMJ2

बेलायत, १८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औं सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कदै छन् ।

यही नोभेम्बर १ र २ मा आयोजित सम्मेलनमा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यही कात्तिक १२ गते लण्डन प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री नेतृत्वको टोली बुधबार स्थानीय समय दिउँसो १ः५५ बजे इडेनवर्गबाट कतार एयरवेजको उडानबाट दोहा हुँदै आज बिहान काडमाडौं आइपुग्नेछ । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव कोप–२६ मा सहभागी रहेकाले उनी बाहेक भ्रमण टोलीमा रहेका अन्य सबैजना स्वदेश फर्किंदै छन् ।

स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले स्कटल्याण्डको इडेनवर्गस्थित रोयल बोटानिकल गार्डेनको अवलोकन गरी उनको सम्मानमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्नुको साथै सो गार्डेनमा रहेको नेपाली बगैंचामा भोजपत्रको विरुवा रोपेका थिए । पाँचौं पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गरेका थिए । त्यहाँ रहँदा प्रधानमन्त्री देउवासँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग भेटघाट भएको थियो ।

प्रधानमन्त्री देउवाले नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी भई वर्ल्ड लिडर समिटलाई सम्बोधन गरेका थिए । प्रधानमन्त्री देउवाले भ्रमणका क्रममा विभिन्न राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता पनि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७