कांग्रेसको पौडेल समूह फुट्यो, आफ्नै टिम बनाउने तयारीमा प्रकाशमान


२६ कार्तिक २०७८, शुक्रबार
Ramchandra prakashman fut

काठमाडौं, २६ कात्तिक । सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह छाडेका छन् । आसन्न १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका सिंहले महाधिवेशन तयारीमा केन्द्रीय हुने भन्दै पौडेलले बोलाएको बैठक बहिष्कार गर्ने भएका छन् ।

वरिष्ठ नेता पौडेलले आज (शुक्रबार) संस्थापन इतर समूहका केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठक बोलाएका छन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा २ बजे हुने बैठकमा आफू नआउने सन्देश सिंहले पौडेललाई पठाइसकेका छन् ।

पछिल्लो समय पौडेल र सिंहका बीच दूरी बढ्दै गएको अवस्था छ । १३ औं महाधिवेशनमा पौडेल सभापति लड्दा सिंह प्रस्तावक रहेका थिए । १३ औं महाधिवेशनमा आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको सिंहको गुनासो छ । यसअघि पौडेल पक्षको बैठकमा नियमित सहभागी हुने सिंहले यही कारण आजको बैठक बहिष्कार गर्न लागेका हुन् ।

‘प्रतिकूल अवस्थामा प्रकाशमानको साथ चाहिने तर प्रकाशमानलाई कहिल्यै सहयोग गर्न नपर्ने ? सभापतिमा प्रकाशमानलाई स्वीकार नगर्ने हो भने बैठकको अर्थ छैन’ सिंह निकट एक नेताले भने । ती नेताका अनुसार संस्थापन इतर समूहबाट सहयोग नभए पनि सभापतिमा चुनाव लड्ने मनिस्थितिमा सिंह पुगिसकेका छन् ।

पछिल्ला केही सार्वजनिक कार्यक्रमहरुमा सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल दुवैले पार्टी हाँक्न नसक्ने बताउँदै आएका छन् । ‘अब महाधिवेशमा प्रकाशमान दाईको आफ्नै टिम बन्छ’, सिंहनिकट नेताको भनाइ छ । पौडेल समूहका एक सदस्य पूर्व महामन्त्री प्रकाशमान सिंह आगामी महाधिवेशनमा सभापति उठ्ने गरी एक्लै अघि बढेका छन् । यससँगै पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्ध आसन्न महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने सम्भावना टरेको छ । पौडेल समूहबाट सभापतिका आकांक्षी सिंह अब एकल ढंगबाट अगाडि बढे महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारीमा लागेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७