ओलीलाई भेट्न पार्क सफारी रिसोर्ट पुगे पूर्व माओवादी नेता लेखराज भट्ट


१२ मंसिर २०७८, आईतवार
LekhRaj Bhatta nekapa1613901492

चितवन, १२ मंसिर । नेकपा एमाले स्थायी कमिटी सदस्य लेखराज भट्ट अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनी बसेको पार्क सफारी रिसोर्टमा पुगेका छन् । आइतबार राति सौराहाको पार्क सफारी रिसोर्टमा बसेका ओलीलाई भेट्न पूर्व माओवादी नेता भट्ट पुगेका हुन् ।

उनले आज बिहान पनि ओलीलाई भेटेका थिए । तर, त्यतिबेला ओलीले पहिले पार्टीको अन्य कुरालाई मिलाउनु पर्ने भन्दै पछि कुरा गर्ने बताएका थिए । उनी पूर्व माओवादी नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल गर्न पुगेका हुन् ।

एमालेको नेतृत्व सर्वसम्मत चुन्ने प्रयास स्वरुप केन्द्रीय पदाधिकारी तथा केन्द्रीय समिति सदस्यको नामावली दोस्रो पटक प्रिन्ट गरेर अन्तिम रुप दिएको भनिएकै बेला पूर्व माओवादी नेता भट्ट अध्यक्ष ओलीलाई भेट्न रिसोर्ट पुगेका हुन् । ओलीसँग छलफल गरी एमाले नेताहरु ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवालीलगायत बाहिरिए लगत्तै भट्ट उक्त रिसोर्टमा पुगेर ओलीसँग भेट गर्दैछन् । ओली–भट्टबीचको छलफलमा एमाले नेताहरु विष्णु पौडेल र शंकर पोखरेल पनि सहभागी छन् ।

सहमतिमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य टुङ्गो लगाउन भन्दै आइतबार दिनभर ओलीले पार्टीका विभिन्न नेतासँग छलफल गरेका थिए । साँझ भने नामावली करिब करिब टुंगो लागिसकेको बताइएको छ । अब ओलीले उक्त सूची बन्द सत्रमा प्रस्ताव गर्ने बताइएको छ । पछिल्लो समय सोही नामावलीका विषयमा ओलीले विभिन्न नेतासँग छलफल गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७