एमाले महाधिवेशन लम्बिँदा खर्च नौं करोड पुग्यो


१४ मंसिर २०७८, मंगलवार
KP Sharma oli

चितवन, १४ मंसिर । नेकपा एमाले महाधिवेशन लम्बिदा डेढ करोड खर्च बढेको छ । साढे सात करोड खर्चमा महाधिवेशन सक्ने योजना रहेको थियो । तर, समय लिम्बँदा डेढ करोड खर्च बढेर नौं करोड पुगको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । १० गते शुरु महाधिवेशन १२ गतेसक्ने योजना थियो । तर, दुई दिन लम्बिँदा खर्च पनि बढेको हो ।

नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले महाधिवेशन लम्बिँदा एक–डेढ करोड खर्च बढेको बताए । उनले भने, ‘यो अलि अप्रत्यासित भयो वास्तवमा । हामीले जति टार्गेट गरेका थियौं निर्वाचन गर्नुपर्नाको कारणले अलि बढी खर्च बढाएको छ । पार्टीको अलि राम्रै रकम खर्च गर्नु परेको छ । मेरो अनुमानमा एक २५ देखि डेढ करोडसम्म बढी खर्च भएको छ ।’ बिल नआइसकेकाले खर्चबारे अझै एकिनका साथ भन्न नसकिने उनले बताए ।

एमाले केन्द्रीय कार्यालयका सचिव तामाङका अनुसार १० औं महाधिवेशनका लागि ७ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । ललितपुरको गोदाबरीमा आयोजित विधान महाधिवेशनमा ४ करोड ७१ लाख खर्च भएको जानकारी पनि उनले दिए ।

नेकपा एमालेको केन्द्रीय महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले पनि महाधिवेशन एक दिन मात्रै बढी लम्बिदा थप एक करोड भार पार्टीलाई थपिने बताए । ‘प्रतिनिधिलाई खाना आवासदेखि निर्वाचनको खर्च समेत जोड्दा एक दिनमा एक करोड रुपियाँ थपिने अनुमान छ’ पाण्डेले भने ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा भएको थियो । बन्दसत्र मंसिर ११ गते पर्यटकीय नगरी सौराहमा सुरु भएको थियो । सहमतिमा नेतृत्व चयनको प्रयास सफल नभएपछि पूर्वनिर्धारित तालिका प्रभावित भयो ।

मंसिर ११ गते नै उम्मेदवारी दर्ता, दावी विरोध र अन्तिम नामावली प्रकाशन गर्ने, १२ गते निर्वाचन गरेर १३ गते विहानै चितवनमा पत्रकार सम्मेलन गरी महाधिवेशन समापन गर्ने एमालेको पूर्व निर्धारित कार्यक्रम थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते दिनभरजसो नै सहमतीका लागि प्रयास गर्दा महाधिवेशन थप दुई दिन लम्बियो ।

नेतृत्वमा सहमति नजुटेपछि १४ गते विहानदेखि मतदान गरियो । निर्वाचित भएकाहरुको आजै सपथ ग्रहणको तयारी गरिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले आज सपथ ग्रहणको तयारी गरिएको बताए । यसका कारण अब महाधिवेशनको मैजारो १५ गते मात्रै हुनेछ ।

महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि, स्वयमसेवक र अतिथि गरी ३५ सय जनाका लागि होटल बुक गरिएको छ । त्यसमा प्रतिनिधि बसेको होटलले थप तीन छाक खाना खुवाउने सम्झौता गरिएको छ । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेको थियो । मूल व्यवस्थापन समिति सहसंयोजक पाण्डेका अनुसार सोमबार दिउँसो र बेलुकाको खाना, मंगलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्ने गरी अर्काे सम्झौता गरिएको छ । थप एक दिन खाना र बेडको लागि करिब ७० लाख रुपैयाँमा सम्झौता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७