कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ : रामचन्द्र पौडेल


२४ मंसिर २०७८, शुक्रबार
thumb 4

काठमाडौं, २४ मंसिर । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्ने बताएका छन् । उनले पार्टीमा अहिले नेतृत्वको गति रोकिएको भन्दै अब कार्यकर्ताले मूल्यांकन गर्ने बेला भएको बताए ।

‘कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ । जब कार्यकर्तासँग त्यो क्षमता हुन्छ, तब मात्रै हामी अघि बढ्न सक्छौं,’ १४ औं महाधिवेशन उद्घाटन समारोमा बोल्दै पौडेलले भने, ‘अहिले हाम्रो पार्टीको, नेतृत्वको गति रोकिएको छ, पार्टीलाई यो अवस्थाबाट अगाडि बढाउनका लागि यो महाधिवेशन एउटा अवसर हो । यो भ्रष्टाचार, कमिसनतन्त्र जसरी देखिएको छ, यसबाट मुलुकलाई मुक्त गर्नका लागि हामीले अहिले सोच्ने बेला भएको छ ।’

नेता पौडेलले अहिले देशको परिस्थिति गम्भीर अवस्थामा पुगेको बताए । ‘हामीले अहिले नीति तथा कार्यक्रमका बारेमा गम्भीर छलफल गर्नुपर्ने थियो, तर हामीले व्यवस्थित रुपमा महाधिवेशन गर्न सकेनौं, बेलामा हुन सकेन । जसले गर्दा हडबडमा अधिवेशन सम्पन्न गर्नुपरेको छ, विधि पुर्‍याउने कुरामा मात्रै सीमित हुन पुगेको छ,’ पौडेलले भने ।

उनले अब एक वर्षभित्र पार्टीले विरोधी शक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति रहेको भन्दै विरोधीसँग जुध्न सक्ने नेतृत्व चयन अहिलेको आवश्यकता रहेको बताए । ‘नेपालको राजनीतिमा हामीले धेरै विरोधीहरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ, त्यो निकै कठिन छ, त्यो ज्यादै उकालो छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७