महाधिवेशन लम्बिएपछि कांग्रेसको खाना र आवास खर्च पाँच करोड पुग्यो


२८ मंसिर २०७८, मंगलवार
voting dStWScn07n

काठमाडौं । नेपाली कांग्रेस महाधिवेशन लम्बिएसँगै खर्च पनि बढेको छ । सभापतिका पाँच उम्मेदवारले ५० प्रतिशत कटाउन नसक्दा महाधिवेशन अवधि लम्बिएको हो ।

सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएसँगै कांग्रेसको खर्च बढ्ने भएको छ । कांग्रेसले एक दिन महाधिवेशन लम्बिँदा ८० देखि ९० लाखसम्म खर्च बढ्ने जनाएको छ । महाधिवेशन आवास तथा खाना व्यवस्थापन समितिका संयोजक सुरेन्द्र पाण्डेले काठमाडौंमा रहेका प्रतिनिधिलाई मंगलबार खाने बस्ने व्यवस्था गरिएको जानकारी दिएका छन् । ‘महाधिवेशन अवधि लम्बिएपछि खाना र बस्न त पार्टीले गर्नैपर्छ’, पाण्डेले भने, ‘आज (मंगलबार) खाजा, खाना र बस्न व्यवस्था गर्छौं ।’

उनले होटल तथा क्याट्रिनसँग २ दिनसम्म महाधिवेशन लम्बिनसक्ने र त्यसको लागि व्यवस्था गर्नुपर्ने पहिला नै सम्झौता भएको बताए । कांग्रेसले सुन्धारा, ठमेल, गौशला क्षेत्रमा आफ्ना ४५ सय बढी प्रतिनिधिलाई राखेको छ । होटलमा करिब ४५ बेड बुकिङ रहेका छन् ।

कांग्रेसले महाधिवेशन अवधिमा खाना र आवासकोलागि साढे ३ करोड रुपैयाँ खर्च लाग्ने आंकलन गरेको थियो । ‘हामीले आकलन गरेभन्दा धेरैले भृकुटीमण्डपमा खाना खाएका छन्’, पाण्डेले भने, ‘हामीले अनुमान गरेभन्दा धेरै खर्च भएको छ । १ हप्तापछि मात्रै पूणर् विवरण सार्वजनिक हुन्छ ।’ उनले खाना र आवासको लागि मात्रै करिब ५ करोड पुग्ने अनुमान गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७