कांग्रेसमा हालसम्म सभापतिदेखि सहमहामन्त्रीसम्म आठ जना विजयी, कुन प्यानल अगाडि ?

सहमहामन्त्रीका बाँकी पाँच क्लस्टरको मत गणना आज


२ पुष २०७८, शुक्रबार
dauba koirala sing and nidhi 1024x464 1

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्य समितिका लागि भएको निर्वाचनको मत गणना र परिणाम आउने क्रम जारी छ । हालसम्म सभापतिदेखि सहमहामन्त्रीसम्मका आठ पदाधिकारी निर्वाचित भइसकेका छन् ।

हालसम्म निर्वाचित हुनेमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र तीन जना सह-महामन्त्री विजयी भइसकेका छन् । अब पाँच सह-महामन्त्रीको मत परिणाम आउन बाँकी छ । सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । उनी दोस्रो चरणमा शेखर कोइरालालाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

उपसभापतिमा पूणर्बहादुर खड्का र धनराज गुरूङ निर्वाचित भएका छन् । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन् । आदिवासी जनजातितर्फ सह-महामन्त्रीमा भीष्मराज आङदेम्बे, महिला सह-महामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ र दलित सह-महामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् । पाँच सह-महामन्त्रीको मतपरिणाम आउन बाँकी छ । बाँकी सह-महामन्त्रीको मतगणना आज हुँदैछ ।

अहिलेसम्मको नतिजाअनुसार दोस्रो कार्यकालका लागि पनि कांग्रेस सभापतिमा विजयी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका उनीसमेत चार जनाले जितेका छन् । ती हुन्- सभापति देउवा आफैं, उपसभापति पूणर्बहादुर खड्का, महामन्त्रीमा भने उनी पक्षका डा. प्रकाशशरण महत र प्रदीप पौडेल दुवै हारे । अहिलेसम्मको नतिजामा सहमहामन्त्रीमा देउवा पक्षका महिलातर्फ महालक्ष्मी ‘डिना’ उपाध्याय र आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भइसकेका छन् ।

यस्तै सभापतिमा पराजित शेखर कोइराला समूहबाट एक जना उपसभापतिमा धनराज गुरुङ विजयी भएका छन् भने दुई महामन्त्रीमध्ये एकमा गगन थापाले जितेका छन् । अहिलेसम्मको नतिजाअनुसार सहमहामन्त्रीमा पनि शेखर समूहका एक जना दलितर्फ जीवन परियार विजयी भएका छन् ।

यस्तै सभापति पदको प्रतिस्पर्धामा पहिलो चरणको चुनावबाटै फालिएका तथा दोस्रो चरणमा देउवालाई समर्थन गरेका प्रकाशमान सिंह पक्षतर्फ महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । यस्तै सभापति पदको प्रतिस्पर्धामा पहिलो चरणको चुनावबाटै फालिएका र दोस्रो चरणमा देउवालाई समर्थन गरेका विमलेन्द्र निधि पक्षमा भने अहिलेसम्म कोही विजयी भएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७