बलात्कृत राउटे युवतीको पहिचान खुलाउने पत्रकार मगरलाई पाँच महिना कैद


६ पुष २०७८, मंगलवार
surkhet jilla adalat

सुर्खेत । सामुहिक बलात्कारमा परेकी राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने सुर्खेतका एक पत्रकारलाई जिल्ला अदालतले पाँच महिना कैद सजाय हुने फैसला सुनाएको छ ।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको एकल इजलासले पत्रकार एग्गेबहादुर मगरलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरीवाना हुने फैसला सुनाएको हो । मगर ‘राप्ती पहिचान डट कम’ अनलाइनका सञ्चालक हुन् । दाङको तुलसीपुर उपमहानरपालिका-३ स्थायी घर भएका मगरले गएको जेठ २१ गते बलात्कारमा परेकी राउटे युवतीको पहिचान खुल्ने गरी आफ्नो अनलाइनमा तस्बिर र नामसहित समाचार प्रकाशन गरेका थिए ।

उनले बलात्कारमा संलग्न पीडकको तर्फबाट बहस गरेका वकिलहरुको विरूद्धमा समेत फेसबुकमा स्टाटस लेखेका थिए । बुढामगरले फेसबुकमा लेखेका थिए, ‘अदालतभित्र राउटे युवतीलाई बलात्कार गर्ने राक्षसबाट मोटो रकम लिएर ती राक्षसको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालो कोट लगाउने प्रमाणपत्रधारीबाट तीन घण्टा टर्चर भयो । निजहरुको जिरहलाई निरह पार्नेगरी सवालको जवाफ दिएको छु ।’

पीडकका तर्फबाट वकालत गर्ने वकिलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसीले बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्नेगरी अनलाईनमा समाचार प्रकाशन गरेको र आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए । सुर्खेत जिल्ला अदालतका न्यायाधीश आचार्यको फैसलामा संवेदनशील विषयमा समाचार सामग्रीहरु प्रकाशन प्रसारण गर्दा पीडितको सुरक्षा तथा पहिचानको विषयमा गम्भीर नभएपछि बुढामगरलाई कैद र सजाय तोकिएको उल्लेख छ ।

सजाय तोकिएका पत्रकार बुढामगरले २४ घण्टाभित्र क्षमायाचना गरेमा भने कैद बस्नु पर्दैन । त्यसका लागि जुन सामाजिक सञ्जाल प्रयोग गरी कानुन आकर्षित हुने क्रियाकलाप गरिएको हो तिनै सञ्जालमार्फत माफी माग्नुपर्ने हुन्छ । पत्रकार मगरले यो घटनामा आफू सञ्चालक रहेको अनलाईनमार्फत क्षमायाचना भने गरिसकेका छन् ।

राउटे युवतीलाई बलात्कार गरेको आरोपमा त्यतिबेलै प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुनाबाट तीन युवालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन छन् । पुन होटल सञ्चालक हुन् । उनीहरुले राउटे युवतीलाई होटलमा लगेर मादक पदार्थ खुवाएर यौन दुर्व्यवहार गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७