न्यायालयको गरिमा जोगाउन महाअभियोग : कानुनमन्त्री बडु


१ फाल्गुन २०७८, आईतवार
Dilendra

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब न्यायालय संवैधानिक तरिकाले अघि बढ्ने दावी गरेका छन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग दर्ता भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडुले यस्तो बताएका हुन् । उनले न्यायालयको गरिमा जोगाउन महाअभियोगको बाटो अवलम्बन गर्नुपरेको समेत बताएका छन् ।

झण्डै चार महिनादेखि न्यायिक र संवैधानिक सबै प्रक्रिया अवरुद्ध भएको उल्लेख गर्दै उनले अहिलेको निकास आवश्यक रहेको बताए । न्यायालयमा देखिएको अवरोध हटाउन शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप सरकारले केही गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सांसदहरूले संविधानअनुसार महाभियोगको प्रस्ताव दर्ता भएको बताए ।

‘यो (महाभियोग) दर्ता गर्नुपर्ने धेरै आधारहरू उहाँहरूले उल्लेख गर्नुभएको छ । मलाई के लाग्छ भने न्यायालयले झण्डै चार महिनादेखि न्यायिक र संवैधानिक प्रक्रियाका सबै कामहरू अवरुद्ध छन् । एक किसिमको अप्रत्याशित, अनपेक्षित अवरोधको अवस्था थियो न्याय प्रशासनमा,’ उनले भने, ‘सम्माननीय प्रधानन्यायाधीश भनेको न्यायालयको नेतृत्वकर्ता पनि हो । यो अवरोधलाई फुकाउन शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप सरकारमा रहेका कारणले हामीले हस्तक्षेप गर्नसक्ने अवस्था होइन ।’

मन्त्री बडूले अब न्यायालय संवैधानिक तरिकाले अघि बढ्ने विश्वास व्यक्त गरे । प्रधानन्यायाधीश जबराले संवैधानिक बाटोबाटै आफू जान तयार रहेको अभिव्यक्ति स्मरण गराउँदै उनले गर्दै अब न्यायालय आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न सक्षम हुने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७