एमसीसी अनुमोदनमा सघाएका प्रचण्ड र माधव नेपाललाई देउवाले दिए धन्यवाद

‘अब एमसीसी कार्यान्वयनमा ध्यान दिऔं’


१९ फाल्गुन २०७८, बिहीबार
deuba prachanda madhav

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग (एमसीसी) सँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनको प्रक्रियामा सहयोगी सबैलाई धन्यवाद प्रकट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बिहीबार) बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनमा सहयोग पुर्‍याउने सबै राजनीतिक दल र नेताहरूलाई धन्यवाद व्यक्त गरेका हुन् ।

‘हामी सबै एक ठाउँमा उभिएर एमसीसी अनुमोदन गरेका छौं । अनुमोदनको प्रक्रियामा जसरी हामी सबै एक ठाउँमा उभिएका छौं, अब यसको कार्यान्वयनमा समेत हामी सबै एक ठाउँमा उभिनु पर्नेछ,’ बैठकमा प्रधानमन्त्री देउवाले भने । बैठकमा एमसीसी अनुमोदनका क्रममा गठबन्धनमा उत्पन्न खटपटको समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रम र सरकारका कामकारबाहीका विषयमा छलफल भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा भएको बताए ।

‘अहिलेको समसामयिक राजनीतिका बारेमा छलफल भयो,’ मन्त्री कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरिरहेको छ । त्यसकारण संसद्ले गर्नुपर्ने अत्यावश्यक कामहरू हुन पाएका छैनन् । महत्वपूणर् विधेयकहरू पारित गर्नुपर्ने आवश्यक छ । तर, त्यसको प्रक्रिया अघि बढाउन सकिएको छैन । त्यसैले बैठकले प्रमुख प्रतिपक्षी दलसँग संसद्मा जारी अवरोध हटाउन आह्वान गरेको छ ।’

सत्ता गठबन्धनमा लामो छलफल र रस्साकस्सीपछि आइतबार प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएको थियो । बिहीबारको बैठकमा प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसहित उच्चस्तरीय राजनीतिक समन्वय समितिमा संलग्न नेताहरू सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७