प्रेमिका खोसेको भन्दै शंखमुलमा दिनदहाडै युवकमाथि खुकुरी प्रहार, पाँच जना पक्राउ


१० चैत्र २०७८, बिहीबार
Arrested shankhamul people

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ स्थित शंखमुलमा दिन दहाडै १० जनाको समूहले एक युवकलाई खुकुरी प्रहार गरेका छन् । बुधवार खुकुरी प्रहारबाट दोलखाको भीमेश्वर नगरपालिका घर भई ललितपुरको टिकाथली बस्दै आएका २५ वर्षीय सुरज खड्का घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सुरजलाई खुकुरी हान्नेमध्येका पाँच जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले जानकारी दिए । पक्राउ पर्नेमा दोलखा नाम्दु घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुरको थिमीमा बस्ने २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक घर भएका प्रवीण नेपाल छन् । रामेछापको मन्थली घर भएका राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका घर भएका २७ वर्षका सञ्जीव मोक्तानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रेमिका खोसेको भन्दै सुरजमाथि खुकुरी प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । शंखमुलस्थित भोटाहिटी फलफूल, जुस तथा जनपकुरी लस्सी पसल अगाडी वा.९३ प २२९ नम्बरको मोटरसाइकल, दुईटा स्कुटर र ५५४२ नम्बरको मोटरसाइकलमा आएका युवाहरूले सुरजलाई खुकुरी हानेर भागेका थिए ।

खुकुरी प्रहारबाट उनको बायाँ खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । खुकुरी प्रहारमा संलग्न अनिलराज गिरी र दोलखा बैत्यश्वर गाउँपालिका घर भएका विकास लामा फरार छन् । प्रारम्भिक अनुसन्धानबाट उनीहरूको बिचमा लेनदेन विवाद पनि देखिएको अपराध महाशाखाका एसपी कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७