पल शाह आज जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत जाँदै


१५ चैत्र २०७८, मंगलवार
pal saha

तनहुँ । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध आज (मंगलबार) पुनरावेदनका लागि उच्च अदालत पोखरा जाने भएका छन् ।

पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएको भन्दै उनले आज उच्च अदालत पोखरामा पुनरावेदन दिने तयारी गरेका हुन् । पल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौं । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौं’, उनले भने ।

पललाई तारेख वा धरौटीमा छाडेर मुद्दा पुर्पक्ष गरियोस् भनेर माग राखे पनि अदालतले थुनामा पठाएकाले पुनरावेदन दिन लागेको उनको भनाइ छ । ‘थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत छैन । जिल्ला अदालतको आदेश बदर गरेर तारेखमा राखी मुद्दाको पुर्पक्ष गरी पाउँ भनेर तल्लो अदालतले गरेको आदेशको उपरमा माथिल्लो अदालतमा दिन पाइने कानुनी व्यवस्था अनुसार पुनरावेदन दिँदैछौं’, उनले भने ।

घटना भएको लामो समयपछि मात्रै उजुरी दिइएको, बलात्कार भएको भनिएको भोलिपल्ट बिहानै बलात्कृत भनिएकी बालिका पलसँगै ढोरवाराही मन्दिर दर्शनमा गएको र उमेर शंकास्पद भएकाले कानुनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ ।

जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो । जिल्ला न्यायाधीश हरिषचन्द्र ढुङ्गानाको एकल इजालसमा पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई भने एक लाख रुपैयाँ धरौटीमा तारेखमा छाडिएको छ । ७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।

गायिकालाई सुटिङका क्रममा विवाह गर्ने भन्दै प्रेममको झुठो नाटक देखाएर पटक-पटक करणी गर्दै आएको भन्दै ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । अन्तिम पटक १४ वैशाख २०७८ मा शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडास्थित प्रदिप थापाको घरमा राति १२ बजेतिर ती बालिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको उनका अभिभावकले दिएको उजुरीमा उल्लेख छ । १५ फागुनमा तनहुँ प्रहरी समक्ष आएर पलले आत्मसर्मपण गरेका थिए ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै प्रहरी हिरासतमा रहेका पललाई जिल्ला कारागार तनहुँमा राखिएको छ । पल जिल्ला कारागार तनहुँको बि ब्लकमा छन् । उनीसँगै बि ब्लकमा १४० जना कैदीबन्दी छन् । बि ब्लक ८० जना क्षमताको हो । तनहुँ कारागारमा १३ जना महिला कैदीबन्दीसहित कुल २५८ जना छन् ।

पललाई दैनिक ६० रुपैयाँ नगद सिदा र सात सय ग्राम चामल रासन उपलब्ध गराइएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । पलले कारागारमा पुस्तक पढ्ने, आफन्तसँग भेटघाट गर्ने गरेर दिन बिताइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७