‘गौरवमय विरासतमा उभिएको रामप्रसाद राई गाउँपालिका अब समृद्धिको नयाँ युगमा प्रवेश गर्नेछ’


२३ बैशाख २०७९, शुक्रबार
balaram rai banga

नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद सुदन किरातीले बिहीबार (२२ बैशाख, २०७९)मा बलराम राई ‘बाङा’सँगको भलाकुसारी गरिहेको तस्बिर फेसबुकमा पोष्ट गर्दै लेखे, ‘हाम्रो रक्त सम्बन्ध एउटै हो तर हामी बिचारमा नितान्त फरक छौं । सामाजिक सम्बन्ध र सद्भाव सधैं कायम रहने छ । ‘बाङा’लाई शुभकामना छ ! आज अचानक चुनावी अभियानमा भेट !

Sudan Kirati
सांसद सुदन किराती र ‘बाङा’

बलराम राई साइनोले सांसद किरातीको दोहोरो सम्बन्ध छ । घरमा ‘बाङा’ अर्थात् काका । ससुराली पनि एकै घर । ‘बाङा’ले दिदि र किरातीले बिहिनी विहे गरेका छन् । आगमी ३० बैशाख २०७९ मा हुने स्थानीय तहको निर्वाचनमा बलराम राई ‘बाङा’ रामप्रसाद राई गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार । तर ‘बाङा’को पार्टी नेकपा (एमाले) हो । रामप्रसादराई गाउँपालिका माओवादी नेता सांसद सुदन किरातीको गृहपालिका ।

गठबन्धनबाट माओवादीका थामबहादुर राई ‘निर्माण’ लाई अध्यक्षको उम्मेदवार छन् । कमरेड ‘बाङा’ ले जित्ने की कमरेड निर्माणले ? त्यसले रामप्रसाद गाउँपालिको निर्वाचन रोचक बनेको छ ।

त्यसो त ‘बाङा’ केवल सांसद किरातीको मात्रै ‘बाङा’ होइनन् । उनी भोजपुरको लागि साझा जस्तै हो । ‘बाङा’ साइनो र सम्बोधनसँग भोजपुरमा सबैको सम्मान र समाप्यिता जोडिएको छ । ‘बाङा’को भोजपुरमा एउटा फराकिलो सम्बन्ध र समूह छ । अप्ठ्यारो र संकट पर्न साथ उनलाई सम्झिनेहरुको संख्या ठुलो छ ।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राई बेला–बेलामा जिस्किएर भन्ने गरेका छन्, ‘संकट र अप्ठ्यारो पर्न साथी धेरैले ‘बाङा’ सम्झिन्छन् । तर ‘बाङा’लाई भने धेरैले बिर्सेर जाने गरेका छन् ।’ त्यसो त ‘बाङा’ नेकपा (एमाले) भोजपुरको राजनीतिमा २०४६ सालदेखि क्रियाशिल छन् । राजनीतिसँगै सामाजिक र गैरसरकारी अभियान समेत नेता हुन् ।

गैर सरकारी संस्था महासंघ भोजपुरको अध्यक्ष, प्रदेश सदस्य लगायतको जिम्मेवारी निभाएको अनुभव छ उनीसँग । त्यसो त उनले यसअघि नै सामाजिक र विकासका अनेकौं कामको अगुवाई गरेका छन् । बेलायत सरकारको सहयोगर्मा यापले खनाएको भोजपुर–घोडेटार सडक निर्माणको श्रेय उनैलाई दिन्छन् । स्थानीयबासीको समूह निर्माण गरेर स्थानीय औजारकै सहायताले बनाइएको उक्त सडकको सामाजिक परिचालनको पाटो सगरमाथा विकास संस्थाले लिएको थियो ।

संस्थाका अध्यक्ष बलराम नै थिए । सशस्त्र द्वन्द्वताका माओवादीले पटकपटक अवरोध गरेको उक्त सडक सुचारु गर्न उनैले सहजीकरण गरेका थिए । सडक खन्नेक्रममा स्थानीयले कमाएको ज्याला समूहको वचत परिचालन गरेर व्यवसायिक पशुपालन र कृषिमा जोड दिइएको थियो । उनै ‘बाङा’सँग चुनावी अभियान र अजेन्डा बारेमा गरिएको कुराकानीको सम्पादित अंश :


घरदैलो कार्यक्रममा सक्रिय हुनुहुन्छ । गाउँपालिकावासीको प्रतिक्रिया कस्तो पाइरहनु भएको छ ?
–हामी दैनिक रुपमा घरदैलो कार्यक्रममा सक्रिय छौं । जनताहरुले असाध्यै उत्साह र खुसीको साथ हामीलाई स्वागत गरिरहनु भएको छ । गाउँपालिकाको विकास र समृद्धिको लागि नेकपा (एमाले)को नेतृत्व आबश्यक छ भनेर पालिकावासीले हामीलाई असाध्यै न्यायो स्वागत गर्नुभएको छ । जनताहरुको यसप्रकारको माया र सद्भावले हामी उत्साहित छौं ।

रामप्रसाद राई गाउँपालिकाको अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?
– यहाँलाई थाहा छ, रामप्रसाद राई आफैमा एउटा इतिहास बोकेको गाउँपालिका हो । २००७ सालको गौरवमय क्रान्तिका अगुवा क्रान्तियोद्धा जननायक रामप्रसाद राईको नामबाट नामकरण गरिएको छ । राणशाहीलाई सधैंका लागि बिदा गरेर प्रजातन्त्र स्थापनामा उहाँले निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । हामी त्यो गौरव र विरासत लिएर बसिरहेका गाउँपालिका जनता हौं ।

यस गाउँपालिकामा साबिकका ७ वटा गाबिसहरु (ओख्रे – १, धोदलेखानी – २, भुल्के – ३, दलगाउँ – ४, मानेभञ्ज्याङ्ग – ५, बैकुण्ठे ६, बासिखोरा (१,२,३,५,८) – ७ र बासिखोरा –४,६,७ र ९) – ८) लाई समाबेश गरी बनाइएको हो । यो गाउँपालिका ३६० मि. (कावा पिखुवा दोभान) देखि २५१५ मि. (कपासे डाडा) सम्मको उचाईमा फैलिएको छ । यसको इतिहास गौरवमय भएपनि भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी, सिचाई लगायतका क्षेत्रमा समस्या भोगिरहेको छ । तिव्र गतिमा भौतिक पूर्वाधार निर्माण, कृर्षिको आधुनिकीकरण, सुशासन, समाजिक न्याय लगायतका क्षेत्रमा गर्नुपर्ने धेरै काम छन् । मैले लामो समय गैर सरकारी क्षेत्रमा रहेर काम गरेको छु ।

योजनाबद्ध विकासको अवधारणा र योजनाको बिषयमा जानकार छु । सिमित समय र सिमित स्रोतकोबीच पनि विकासलाई कसरी तिव्रता दिन सकिन्छ ? त्यस बारेमा अध्ययन गरेको छु । मेरो त्यही अनुभव र ज्ञानलाई जनताको सेवामा खर्चिने लक्ष्यको साथ अध्यक्षको उम्मेदवार बनेको हुँ ।

रामप्रसाद राई गाउँपालिकाको विकास र समृद्धिको लागि तपाईको एजेन्डा के-के छन् ?
पहिलो भौतिक पूर्वाधार निर्माण हो । बेहेरेश्वर गंगाखोला नागछाँगा पाप्माखाम धार्मिक सडक (पक्की) गुम्बा, दलगाउँ, ओख्रे, पाप्माखाम, पक्की सडक र पिखुवा, मानेभञ्जयाङ्ग, बैकुण्ठे, छाँपगाउँ, बासिखोरा हुदै यूँ (आम्चोक) जाने पक्की सडक निर्माण गर्नेछौं । यसैगरी बैकुण्ठे, वाचुक बासिखोरा, खोक्सिक, छियालुङ भएर बयाङ, पावाला, दुम्माना (आम्चोक) जाने पाक्की सडक निर्माण गर्नेछौं । सवै वडा केन्द्र सम्म ग्राभेल सडक बनाउने छौं ।

दोस्रो हामी रामप्रसाद राई गाउँपालिकालाई उज्यालो गाउँपालिका घोषणा गर्नेछौं । हाम्रो गाउँपालिका चार हजार १६ घरमा उज्यालो लैजानेछौं । बहुसंख्यक साल्पासिलिछोवासीहरु कृर्षि पेशामा निर्भर हुनुहुन्छ । तर गाउँपालिकाको कृषि प्रणाली परम्परागत र निर्वाहमूखी रहेको छ । पशुपालन र कृषिलाई व्यवसायीकरणको लागि फरक अभियान सुरु गर्न आबश्यक छ ।

एक टोल एक कृर्षि उत्पादन सुरु गरिनेछ । यसको लागि सिंचाई सेवा बिस्तार कार्यक्रम (पुराना सिंचाई कुलो मर्मत, नयाँ प्रबिधिको प्रयोग, पोखरी तथा थोपा सिंचाई प्रबद्र्धन) गर्ने योजना छ । कावा, चुकवा, मकुवा, बेहेरे खोला किनारामा व्यवसायिक माछापालन कार्यक्रम सञ्चालनको योजना छ ।

पालिका भित्र जम्मा ३४ वटा विद्यालय छन् तर शैक्षिक गुणस्तर माथि उकासिन सकेको छैन । शैक्षिक गुणस्तर बृद्धिका लागि अभियान नै चलाउने छौं । जननायक रामप्रसाद राईको नाममा व्यवसायिक तालिम केन्द्र (पोलिटेक्निकल कलेज) स्थापना तथा सञ्चालन गर्नेछौं ।

स्वास्थ्यको समस्या अर्को ठुलो समस्या हो । उपचार अभावमा कसैले पनि जीवन गुमाउने छैनन् भन्ने संकल्पको साथ स्वास्थ्य क्षेत्रको अभियान चलाउनेछौं ।

जननायक रामप्रसाद राईसँग जोडिएको इतिहासको अभिलेखीकरण गर्नेछौं । २००७ सालको क्रान्तिको अनुसन्धान र अध्ययन गर्ने रामप्रसाद राई गाउँपालिका आउनै पर्ने अवस्थाको निर्माण गर्नेछौं ।

हाम्रो कामको सूची लामो छ । तपाईलाई यति भनौं, ‘हामीसँग समृद्धि रामप्रसाद राई गाउँपालिका निर्माणको स्पष्ट मार्गचित्र छ । रामप्रसाद राई गाउँपालिको गौरवमय इतिहास छ । अब वर्तमानलाई पनि सुन्दर बनाउँछौं ।’

स्वास्थ्यको क्षेत्रमा सबै स्वास्थ्य संस्थाहरुको भौतिक संरचना पुर्ण रुपमा निर्माण, एम्बुलेन्स सेवा सञ्चाल, हरेक एक वर्षमा टोलटोलमा स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ शिविर सञ्चालन, प्रत्येक वडामा वर्थिङ सेन्टरको स्थापना, हरेक नागरिकको स्वास्थ्य बिमा, जेष्ठ नागरिक, विपन्न, दलित, एकल महिला र अपाङ्गता सहितका व्यक्तिको निशुल्क स्वास्थ्य विमा गरीदिने लगायतका हाम्रो अजेन्डा हो ।

तपाईहरु एक्लै चुनावी मैदानमा हुनुहुन्छ, तपाईहरुमाथि गठबन्धन भारी होला नी ?
–जनताले गठबन्धन हेर्दैंन । योजना हेर्छ । तथ्यमा अर्धारित प्रतिबद्धता हेर्छ । उसको इतिहास हेर्छ । कसले आफ्नो सुखदुखमा साथ दिन्छ उसलाई हेर्छ । विकास र समृद्धिको प्रश्नमा नेकपा (एमाले) बाहेक अरुसँग कुनै खाका नै छैन । खाली राजनीतिका कुराले अब केही हुनेछैन । जनताले विश्वास गर्दैन । अब त जनताको जीवनमा परिवर्तन आउने गरी काम गर्न सक्नुपर्छ । एउटा दृढ अठोट र आत्मविश्वासको साथ उम्मेदवारी दिएको छु । मलाई जनताले अवसर दिनु हुनेछ । यसमा ढुक्क छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७