पर्यटन मन्त्रालयमा सरुवाका लागि पाँच सचिवको दौडधूप


१५ श्रावण २०७९, आईतवार
tourism

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उपराष्ट्रपतिको कार्यालयमा सचिव पद रिक्त छ । रामकृष्ण सुवेदी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएपछि उपराष्ट्रपति कार्यालयको सचिव रिक्त छ । महेश्वर न्यौपाने बिहीबार अवकाश भइसकेपछि पर्यटन मन्त्रालयमा सचिव रिक्त छ ।

उपराष्ट्रपति कार्यालयमा सरुवा हुन चाहने सचिव कमै हुन्छन् । तर पर्यटन मन्त्रालयमा सरुवाका लागि लुम्बिनी प्रदेशका प्रमुख सचिव डिल्लीराम शर्मा, सुदूरपश्चिम प्रदेशका रामेश्वर दंगाल र बागमती प्रदेशका मुकुन्द निरौलाले चाहना राखी आ–आफ्नो पहल जारी राखेका छन् ।

तीन प्रदेशका प्रमुख सचिवमध्ये निरौलाले सत्तापक्ष विशेषगरी कांग्रेसका नेताहरुसँग संघीय मन्त्रालयमा ल्याइदिन अनुरोध गरेकाले उनले बाजी मार्ने संभावना छ । तर लुम्बिनी प्रदेशका प्रमुख सचिव शर्मा मुख्यसचिव शंकरदास बैरागीका गृहजिल्ला पर्वतबासी भएकाले उनको पर्यटनमा आउने संभावनालाई नकार्न नसकिने स्रोत बताउँछ । यद्यपि निरौलालाई पर्यटन तथा शर्मालाई उपराष्ट्रपति कार्यालयमा लानेबारेमा छलफल भइरहेको बुझिएको छ ।

अहिले सरुवा नभए निर्वाचन घोषणापछि ४ महिनासम्म प्रदेशमै बस्नुपर्ने भएकाले पनि तीनै सचिवहरु काठमाडौंमा नेताहरुसँग अनुनय बिनयमा ब्यस्त छन् ।

यद्यपि उद्योग, बाणिज्य तथा आपूर्तिका उद्योग हेर्ने सचिव अर्जुनप्रसाद पोखरेल पनि पर्यटन मन्त्रालयमा सरुवा हुने चाहनामा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले पनि पर्यटनमा सरुवा हुने चाहना मुख्यसचिव शंकरदास बैरागीदेखि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुसँग राखेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७