जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा


१९ श्रावण २०७९, बिहीबार
lalbabu raut

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा मागेको हो ।

‘हामीले शुरुदेखि नै भन्दै आएका छौं ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको छ, हाम्रो पार्टीको दबाबले छानविन प्रक्रिया शुरु भयो’, सो पार्टीका नेता वीपी साहले भने, ‘अख्तियारले छानबिन गर्दा नै मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने थियो, त्यतिबेला दिइएन तर अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजिनामा दिनु पर्छ ।’

कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीले लगाएको छ । ‘मुख्यमन्त्रीकै नाम जोडिएको कार्यक्रम, मुख्यमन्त्रीकै कार्यालयबाट सञ्चालित कार्यक्रम, मुख्यमन्त्रीकै निर्देशनमा सबै निर्णय हुने कार्यक्रममा मात्र कर्मचारी दोषी छन् भनेर तर्क गर्नु गलत हो, मुख्यमन्त्रीको संलग्नता बिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन’, साहले भने, ‘आफ्नै हातबाट साइकल वितरण गर्ने, फोटो खिचाउने तर कुन ब्राण्डको साइकल वितरण भइरहेको छ भनेर मुख्यमन्त्रीले थाहा नपाउने कुरै भएन ।’

नेता साहले भने, ‘मुख्यमन्त्री हुनुभन्दा पहिले लालबाबु राउत बीरगञ्ज महानगरपालिकाको कर्मचारी हुँदा पनि भ्रष्टाचारमा मुछिएका थिए । त्यतिबेला नै राउतजीले भ्रष्टाचार कसरी गर्ने र कसरी जोगिने भनेर तालिम लिनु भएको होला । त्यसकारण साइकल खरिदमा कागजी रुपमा आफू नदेखिने गरी भ्रष्टाचार गर्नु भएको छ ।’

राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप पनि सो पार्टीले लगाएको छ । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठूलो माछामाथि हात हाल्न डराउँछ भन्ने कुरा नेपाली जनतालाई थाहा छ । त्यही भएर अख्तियारले पनि कर्मचारीमाथि मात्र मुद्दा दायर गरेको छ ।’ मधेश प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालिन प्रदेश सचिवसहित ८ जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७