भिजिट भिसामा यूएई पुगेका नौं नेपाली युवा ११ महिनादेखि जेलमा


३० भाद्र २०७९, बिहीबार
UAE

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजेरामा ११ महिनादेखि नौ नेपाली युवा जेलमा रहेका छन् । उनीहरूलाई यूएईको फुजेरास्थित सेन्ट्रल जेलको उड ब्लकमा राखिएको छ ।

उनीहरु ‘भिजिट भिसा’ मा यूएई पुगेका थिए । जेलमा थुनिनेहरुमा धरानका साजन राई, स्याङ्जाका शिवबहादुर थापा, ललितपुरका हिमाल श्रेष्ठ, सिन्धुलीका बुद्धिबहादुर थिङ, नवलपरासीका चोपबहादुर पुन, दोलखाका लक्ष्मण घिमिरे, सिन्धुपाल्चोकका प्रकाश भुँजेल, सिन्धुपाल्चोककै विनोद लामा र पाल्पाका सूर्यबहादुर नेपाली छन् ।

पीडितहरूले विनाकारण जेलमा परेको भन्दै आबुधावीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईसमक्ष उद्दारका लागि गुहार मागेका छन् । दुतावास र एनआरएनएलाई पठाएको पत्रमा उनीहरूले ११ महिनादेखि विना कसुर जेलमा फसेको उल्लेख गरेका छन् । ‘हामीहरू फरक-फरक एजेण्टमार्फत भिजिट भिसामा आएका थियौँ । इन्टरनेट सिटीमा रहेको एक चाइनिज व्यक्तिले भिसा लगाइ दिन्छु भन्दै आठ महिनासम्म बन्धक बनाएर राखेको थियो,’ पत्रमा उल्लेख छ ।

दुबई पुगेपछि इन्टरनेट सिटीमा चिनियाँ नागरिकले एउटा भिल्लामा खाना बनाउने, सरसफाइ गर्ने आदि काम दिएको र घर बाहिर कतै जान नदिएको उनीहरूले बताएका छन् । ‘हामीहरूमध्ये कोही राति भागेर अलपत्र परेका थियौं र भाग्न नसक्ने त्यही बसेर काम गरिरहेका थियौँ,’ पीडितहरूको भनाइ छ, ‘चिनियाँ नागरिक के गर्थे हामीलाई थाहा हुन्न थियो ।’

त्यहाँबाट भाग्ने प्रयास गरेको तर सफल नभएको उनीहरूको भनाइ छ । ‘भाग्ने कोशिस गर्दा पनि सकिरहेका थिएनौँ । पछि अचानक पुलिस आएर समातेर लग्यो,’ उनीहरूले भनेका छन् । उनीहरूले आफूहरू निर्दोष भएकाले उद्दार गरिदिन दुतावास र एनआएनए समक्ष याचना गरेका छन् । ‘हामी निर्दोष छौं । हामीलाई न्याय दिलाइदिनुस्,’ उनीहरुले पत्रमा भनेका छन् । पीडितहरूका अनुसार अहिले एक सय जना चिनियाँ नागरिक पनि आफूहरुसँगै जेलमा छन् ।

उनीहरू कसरी र कोमार्फत् चिनियाँ नागरिकको सम्पर्कमा पुगे भन्नेबारे थप जानकारी खुल्न बाँकी छ । उनीहरूलाई यूएईको साइबर कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको आशंका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७