रेमिट्यान्स कर्मचारीबाट १० लाख लुट्ने दुई भारतीय नागरिक हतियारसहित पक्राउ


१५ कार्तिक २०७९, मंगलवार
lutpat scaled

भैरहवा । रुपन्देहीमा लुटपाट गरेर भागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । २३ असोज साँझ चार बजेतिर लुम्बिनीको महिलवार भित्री सडकमा हतियार देखाइ रेमिटयान्सको कर्मचारीबाट १० लाख ९० हजार लुटेर भागेका भारत उत्तर प्रदेश गोरखपुर चिलुवाताल मोहरीपुर भगवानपुरका २८ वर्षीय सुनीलकुमार सहानी र सोही ठाउँको सहजनवा घगसरा बस्ने २६ वर्षीय शशीकान्त भट्टलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियारसहित पक्राउ गरिएको हो ।

मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेसनमा काम गर्दै आएका कर्मचारीलाई पिछा गर्दै हतियार देखाई उनीहरूले लुटपाट गरेका थिए । भारतीय नम्बर नखुलेको मोटरसाइकलबाट पिछा गर्दै लुटपाट गरेका उनलाई रुपन्देही प्रहरीले मर्चवारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

भारतमा पनि ‘वान्टेड’ सूचीमा रहेका लुटपाटमा सम्लग्न दुवै जनाको साथबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल र हतियार बरामद गरेको छ । भाइटीकाको दिन साँझ ६ बजे कोटहिमाई गाउँपालिका–१ सिपवास्थित इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूले प्रहरीसँग पनि प्रतिकार गर्न खोज्दा प्रहरी निरीक्षक युवराजजंग कार्कीको हातको औँला फ्याक्चर भएको थियो ।

पक्राउ परेको सहानीको साथबाट सेमी अटोमेटिक पेस्तोल र सो मा लाग्ने म्यागजिन एक थान, पाँच थान गोली र भट्टको साथबाट घरेलु कटुवा पेस्तोल, सो मा लाग्ने एक थान गोलीसहित मोबाइल र कागजात बरामद भएको एसपी रेग्मीले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७