बिहीबार रातिदेखि सबै नाका बन्द हुने


३० कार्तिक २०७९, बुधबार
Belahiya Naka 1

काठमाडौं । निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते बिहीबार मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ । बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको छ ।

चुनावको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् । निर्वाचनको ७२ घन्टाअघि नाका बन्द हुने, तर अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न पाइनेछ ।

त्यस्तै, निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानको दिन ४ मंसिर र भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय भएको हो । मतदानको दिन कर्मचारी अबेरसम्म खटिनुपर्ने र भोलिपल्टै कार्यालय गएर काम गर्न कठिन हुने भएकाले ५ गते पनि बिदा दिने निर्णय गरिएको उनले बताए ।

निर्वाचनको अघिल्लो दिन ३ मंसिरमा शनिबार परेकाले सार्वजनिक बिदा छ । मतदानस्थल रहेका विद्यालयमा भने २ देखि ५ मंसिरसम्म बिदा दिने निर्णय गरिएको छ । अधिकांश मतदानस्थल विद्यालयमा छन् । गत ३० वैशाखको स्थानीय निर्वाचनमा मतदानको दिन मात्र सार्वजनिक बिदा दिइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७