चौंथो शक्तिका रूपमा हामी पनि सरकारमा दाबी गर्न सक्छौं : रवि लामिछाने


७ पुष २०७९, बिहीबार
rabi lamichhane 1

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाइएको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेपछि सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढ्ने बताए । उनले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरू सचेत रहने बताए ।

‘अब आमनागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन । हाम्रो नेतृत्वमा सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन । हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्नै छैन । यद्यपि, कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रूपमा हामीेले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौं । बाँकी हेर्दै जाऊँ । किनभने जनमत प्राप्त भएको ठूलो राजनीतिक दलले नै सरकार चलाउने हो । अब संवैधानिक व्यवस्थाअनुसार नै अगाडि बढ्नुपर्ने हुन्छ । सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ ।’

लामिछानेले अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धी विवादका विषयमा भने बोल्न नमिल्ने बताएका छन् । अदालतको फैसलाअनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र शपथग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७