कारागारबाट छुट्दै चार्ल्स शोभराज, ‘डिपोर्ट’ का लागि आजै अध्यागमन विभागमा बुझाइँदै


७ पुष २०७९, बिहीबार
sovraj

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि छुट्न लागेका चार्ल्स शोभराजलाई आजै (बिहीबार) अध्यागमन विभागमा बुझाइने भएको छ ।

अमेरिकी नागरिकसहितको हत्यामा मुछिएर जेल सजाय भोगिरहेका कुख्यात फ्रान्सेली नागरिक शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा हुने भएका छन् । अहिले थुनामुक्त गर्ने प्रक्रिया जारी रहेको केन्द्रीय कारागार सुन्धाराका जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

‘अदालतबाट खासै समस्या देखिएन । थुनामुक्त गर्ने प्रक्रिया गरिरहेका छौं । आजै अध्यागमन विभागलाई बुझाउने तयारी गरेका छौं’, उनले भने । सर्वोच्च अदालतले बुधबार शोभराजलाई रिहा गर्न आदेश दिएको थियो । अमेरिकी नागरिकको हत्या प्रकरणमा १९ वर्ष लामो सजाय काटिसकेका शोभराजको उमेर ७७ वर्ष नाघिसकेकाले सर्वोच्च अदालतले उनको ७५ प्रतिशत सजाय माफी मिनाह हुने आदेश गरेको थियो ।

सर्वोच्चको आदेशअनुसार बिहीबार नै दुवै अदालतबाट शोभराजले सजाय कटाइसकेको पत्र केन्द्रीय कारागारमा पठाएका थिए । काठमाडौं अदातले युनुसमाथिको गोलीकाण्डमा सजाय भोगिसकेको पत्र पनि पठाइदिएपछि शोभराज रिहाइ हुन लागेका हुन् । तर उनलाई जेलबाट सिधै अध्यागमन विभागमा लगेर बुझाइँदैछ । त्यहाँबाट उनलाई अध्यागमन विभागले उनलाई फ्रान्सतर्फ डिपोर्ट गर्नेछ ।

अमेरिकी नागरिकको हत्यासँगै २०६७ माघ २२ गते भारतको लखनउबाट आएका जस्जीत सिंहले शोभराजलाई नै भेट्ने बहानामा युनुसमाथि गोली हानेको घटनामा पनि मुद्दा लागेको थियो । उक्त गोलीकाण्डमा काठमाडौं जिल्ला अदालतले शोभराजलाई पनि ५ वर्षको जेल सजाय सुनाएको थियो । केन्द्रीय कारागारमा थुनामा रहेका समयमा पटक–पटक शोभराजलाई भेटेका सिंहले युनुसमाथि गोली हानेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७