यतीको विमान दुर्घटना : ७० जनाको शव भेटियो, दुईको अवस्था अझै अज्ञात

सनाखत नभएका शव आज काठमाडौं लगिँदै


३ माघ २०७९, मंगलवार
Yati 1

पोखरा । यती एअरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका ७० जनाको शव भेटिएको छ । दुई जनाको अवस्था भने अझै अज्ञात छ । अवस्था अज्ञात रहेका उनीहरुको आज तेस्रो दिन पनि खोजी जारी रहने जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले बताए ।

एसपी केसीका अनुसार दुर्घटनामा परी सम्पर्कविहीन रहेका दुई जना यात्रु खोज्न मंगलबार पनि गोताखोरसहित चार वटा ड्रोनको प्रयोग गरिनेछ । हिजो (सोमबार) ड्रोन प्रयोग गरी दुई जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला पारिएको थियो ।

आइतबार काठकाडौंबाट पोखरातर्फ आउँदै गरेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । विमानमा ४ चालक दल र ६८ यात्रुसहित ७२ जना सवार थिए । दुर्घटनाग्रस्त विमानमा यात्रारत हालसम्म ७० जनाको शव भेटिए पनि दुई जना भेटिन बाँकी छ । भेटिएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

शव सनाखत र पोस्टमार्टमपछि सोमबार साँझबाट मृतकका आफन्तलाई बुझाउन थालिएको छ । शव बुझाउन ढिलो भएको भन्दै दिउँसो केहीबेर अस्पताल प्रशासनमा भनाभन समेत भएको थियो । दुर्घटनामा परी मृत्यु भएका २४ जनाको शव पोखरामै पोस्टमार्टम गरिने छ भने बाँकी ४५ जनाको आजै काठमाडौं पठाइने भएको छ ।

अपुष्ट, विदेशी एवं पहिचान नखुलेका शव सोमबारै काठमाडौं लैजाने भनिएको थियो । त्यसका लागि काठमाडौंबाट हेलिकप्टर पनि हिजै पोखरा आइसकेको थियो । तर, पोखरामा भएका शवकै पोस्टमार्टम र पहिचान प्रक्रियामा ढिलाइ हुने भएकाले आज (मंगलबार) मात्रै काठमाडौं पठाउन लागिएको एसपी केसी जानकारी दिए ।

‘यहाँ भएका शव बिहान ८ बजेपछि पोस्टमार्टम हुनेछन् । बाँकी शव बिहान १० बजेभित्र काठमाडौं लगिसकिन्छ,’ उनले भने । पहिचान हुन नसकेका शवको त्रिवि शिक्षण अस्पतालमा थप परीक्षण गरिने छ । हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डीएनए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गरिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७